
भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्री शुभेन्दु अधिकारी बन्ने भएका छन्। उनले पश्चिम बंगालको भवानीपुर क्षेत्रबाट ममता बनर्जीलाई पराजित गरेका थिए। उनी राज्यमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट पहिलो मुख्यमन्त्री हुनेछन्। पार्टी पर्यवेक्षकका रूपमा कोलकाता पुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले उनको नाम घोषणा गरेका हुन्।
भाजपाले राज्यका २९४ विधानसभा सिटमध्ये २०७ सिट जितेर बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल कांग्रेसको १५ वर्षे शासन समाप्त गरिदिएको छ। योसँगै राज्यमा पहिलोपटक हिन्दू राष्ट्रवादी पार्टी सत्तामा पुगेको छ।
शुभेन्दु अधिकारीले शनिबार कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा मुख्यमन्त्री पदको शपथ लिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ममता बनर्जीका पूर्व सहयोगी रहिसकेका शुभेन्दुले डिसेम्बर २०२० मा टीएमसी छोडेका थिए र त्यसको अर्को वर्ष नन्दीग्राम सिटमा बनर्जीलाई पराजित गरेका थिए।
बंगालमा मुख्यमन्त्री चयन भइरहँदा अर्को राज्य तमिलनाडुमा भने सरकार गठनबारे अनिश्चितता कायम छ। सबैको नजर अब राज्यपालको कदम र सम्भावित कानुनी लडाइँमा टिकेको छ।
अभिनेताबाट राजनीतिमा प्रवेश गरेका विजय थलापति र उनको पार्टी 'तमिलगा भेट्टी कझगम' (टीभीके) सत्ताको नजिक पुगेर पनि सरकार बनाउन सकिरहेका छैनन्। राज्यपाल आर.एन. रविले बहुमत प्रमाणित गर्न आग्रह गरे पनि थलापतिले आवश्यक संख्या जुटाउन सकेका छैनन्।
तमिलनाडु विधानसभा चुनावमा टीभीकेले १०८ सिट जितेको छ, जबकि सरकार बनाउन ११८ सिट आवश्यक पर्छ। राज्यपालले ११८ विधायकको समर्थन पत्रबिना उनलाई सरकार गठनका लागि आमन्त्रित नगर्ने स्पष्ट पारेका छन्।
शुक्रबार विजयले राज्यपाललाई भेटेर सरकार गठनको दाबी पेश गरेका थिए। यद्यपि, केही घण्टापछि नै आईयूएमएल र टीटीभी दिनकरणको एएमएमकेले टीभीके नेतृत्वको गठबन्धनबाट आफूलाई अलग राख्दै छुट्टाछुट्टै पत्र जारी गरे। एएमएमकेले राज्यपाललाई पत्र लेख्दै एआईएडीएमकेलाई सरकार गठनको मौका दिन आग्रह गरेको छ।
वामपन्थी दलहरू (सीपीआई र सीपीएम) ले बाहिरी समर्थनको घोषणा गरे पनि उनीहरू मन्त्रिपरिषद्मा सामेल हुने छैनन्। पाँच जना कांग्रेस विधायकहरूले पनि समर्थन जनाएका छन्, तर कुल संख्या अझै ११८ पुगेको छैन। राज्यपालको अडान भने दृढ छ; उनले ११३ वा ११६ विधायकको समर्थनमा स्थिर सरकार चलाउन नसकिने भन्दै लिखित समर्थन बिना कुनै प्रक्रिया अघि नबढाउने बताएका छन्।
यतिबेला तमिलनाडुको राजनीतिमा अन्योल कायमै छ। कहिले विजयको सरकार बन्ने देखिन्छ भने कहिले डीएमके-एआईएडीएमके गठबन्धनको चर्चा चल्छ। विजयले बहुमत पुगेको दाबी गरे पनि प्राविधिक रूपमा उनी चुकिरहेका छन्।
टीभीकेको १०८ सिट देखिए पनि विजय आफैँले दुई सिटमा जित हासिल गरेकाले उनले एउटा सिट त्याग्नुपर्ने हुन्छ, जसले गर्दा वास्तविक संख्या १०७ मा झर्छ।
द्रमुक (डीएमके) गठबन्धनबाट अलग भएको कांग्रेसले आफ्ना पाँच विधायकसहित विजयलाई समर्थन गरेको छ। सीपीआई र सीपीएमका दुई-दुई विधायकले पनि बिनाशर्त बाहिरी समर्थन दिएका छन्।
यद्यपि, आईयूएमएलले डीएमके गठबन्धनमै रहने निर्णय गरेपछि विजयको पक्षमा बहुमत जुटाउन कठिन भएको छ। हाल विजयको पक्षमा ११६ विधायक देखिएका छन् र उनलाई अझै दुई सिटको खाँचो छ।
यसैबीच, दुई विधायक रहेको आईयूएमएलले स्थिर र धर्मनिरपेक्ष सरकार गठन गर्न तथा भाजपालाई राज्यमा प्रवेश गर्नबाट रोक्ने जुनसुकै शक्तिलाई समर्थन गर्न सकिने संकेत दिएको छ। तर, हालको गणितले थलापति विजयको मुख्यमन्त्री बन्ने सपनामा पूर्णविराम लगाइदिएको छ।