
स्वदेशी तयारी पोशाक उत्पादन गर्दै आइरहेको नसिब गार्मेन्ट उद्योगले लगानी विस्तार गरेको छ ।
दुई दशकदेखि रूपन्देहीमा रहेर तयारी पोशाक बनाउँदै आएको नसिबमा आयन्स गार्मेन्ट भित्रिएको छ । माग र आपूर्तिका साथै बजार विस्तारको सम्भावनालाई लक्षित गरी नयाँ व्यवस्थाका साथ अघि बढ्ने उद्योगले जनाएको छ ।
नसिब गार्मेन्ट उद्योगका अध्यक्ष विष्णु भुसालले थप व्यावसायिक, परिष्कृत र आधुनिक बन्दै आगामी दिनमा आफ्नो उत्पादन विदेश निर्यात हुने बताए ।
नसिबका माग बजारमा उच्च रहेको बताउँदै ‘क्यालिटी’ र ‘क्वान्टिटी’ बढाउँदा २५ करोड लगानी थप गरिएको छ । यसअघि नसिबमा ३५ करोड लगानी थियो ।
अब मेसिनलाई आधुनिक प्रविधिमा रूपान्तरण गरिने छ । रोजगारीमा वृद्धि गरी २५० मा पुर्याइने भुसालले बताए । विद्यालय, कलेज तथा विभिन्न संघ–संस्थाका लागि आवश्यक पोशाक, आधुनिक फेन्सी पहिरन र खेलाडीका लागि जर्सी र ज्याकेट, पाइन्ट लगायतका तयारी पोशाकको उत्पादन गर्ने आयन्स गार्मेन्ट्सका निर्देशक रवि खतिवडाले बताए ।
आयन्स गार्मेन्ट्सका अध्यक्ष महेन्द्र महर्जनले भन्सार छलेर अवैध रूपमा आयात हुने तयारी पोशाकले नेपालका गार्मेन्ट्स उद्योगलाई समस्यामा पारेको र भन्सार हुँदै वैध रूपमा भित्रिने विदेशी पोशाकसँग प्रतिस्पर्धा गर्न सकिने बताए ।
‘सरकारले अहिले भन्सार नाकामा गरेको जाँचमा कडाइले सकारात्मक प्रभाव पार्नेछ’ महर्जनले भने । गार्मेन्ट्सलाई आवश्यक पर्ने कच्चा पदार्थ चीन, हङकङ र भारतको लुधियाना र सुरतबाट आयात गरिनेछ ।