रुपन्देही, २३ पुस– युवा व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा युवा संघ तथा अनेरास्ववीयु रुपन्देहीले आज पनि रुपन्देही बन्द गराएका छन् । हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै उनीहरुले बन्द गरेका हुन् ।
अहिले रुपन्देहीमा सवारी साधन चलेका छैनन् । बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग ठप्प छ । बन्दकर्ताले चोक चोकमा बसेर अवरोध गरेपछि भित्री सडकमा पनि सवारीका साधन चलेका छैनन् । बजार पसल तथा औद्योगिक प्रतिष्ठान समेत खुलेका छैनन् । शनिबार साँझ साढे सात बजेबाट आइतबार बिहान सात बजेसम्म बन्द फिर्ता लिइएको थियो ।
शुक्रबार बिहान गोली हानेर हत्या गरिएका एमालेका कार्यकर्ता पौडेलको शब बुझ्न परिवारले मानेका छैनन् । हत्यामा संलग्नलाई पक्राउ गरेर कारवाही नगरेसम्म शब नबुझ्ने परिवारले अडान लिएको छ ।
घटना छानबिन गर्न प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा ७ सदस्यीय टोली बनेको भएपनि छानबिन टोली झारा टार्न मात्रै बनाइएको उनीहरुको आरोप छ । प्रहरीले भने घटनाको अनुसन्धानलाई तिव्र बनाएको जनाएको छ ।