०३ असार २०८३, बुधबार

बलु हत्या प्रकरण– मनोज पुनले दिएका थिए ‘अब तेरो पालो’ भन्ने धम्की

पुस २३, २०७४
बलु हत्या प्रकरण– मनोज पुनले दिएका थिए ‘अब तेरो पालो’ भन्ने धम्की

बुटवल, २३ पुस– एउटै प्रकृति र एकै ठाउँका दुई युवा नेताको हत्या भएपछि हत्याराको खोजी गरी तत्काल कानूनी कारवाही गर्न प्रहरीमाथि दबाब परेको छ । एमाले निकट युवा संघका दुई नेताहरुको एक वर्षको अन्तरालमा हत्या भएपछि अहिले रुपन्देहीमा सुरक्षा चुनौतीका बारेमा पनि बहस चलिरहेको छ । 

रुपन्देहीको देवदह नगरपालिका–२ मा युवा संघका पूर्व क्षेत्रीय कमिटीका कोषाध्यक्ष एमाले कार्यकर्ता वसन्त पौडेल (बलु) को शुक्रबार विहान हत्या भयो । सोही ठाउँमा युवा संघका तत्कालिन जिल्ला अध्यक्ष दुर्गा तिवारीको गत वर्ष पुस ४ गते हत्या भएको थियो ।

श्रृंखलाबद्ध हत्याका घटनाले देवदह र परिवारजनमा मात्रै होइन सिङ्गो रुपन्देहीका सर्वसाधारणमा आक्रोशित भएका छन् । 

युवा संघले दुई दिनदेखि आन्दोलन जारी राखेको छ । हत्याको विरोधमा जिल्लामा क्रियाशील राजनीतिक दलहरु सबैले विज्ञप्ति मार्फत भत्सर्ना गरेका छन् । सामाजिक संघसंस्थाहरुले पनि हत्यामा संलग्नलाई तत्काल जवाफदेही बनाउन माग गरिरहेका छन् । 

युवा संघको अगुवाईमा हत्यारालाई कारवाहीको माग गर्दै भएको बन्द शनिबार पनि जारी रह्यो । बन्दका कारण जनजीवन भने प्रभावित भएको छ । सवारीका साधनहरुको लामो लाम लागेको र यात्रुहरु अलपत्र परेपछि बेलुकाको समयमा भएपनि बन्द फिर्ता लिन माग गरिएको छ ।

देवदह नपा–२ ढेकारका बलु पौडेल माथि मोटरसाइकलमा आएका दुइ जनाले गोलि प्रहार गरेका थिए । दाउरा किन्न आएको बताउँदै उनीहरुले एक्कासी गोली प्रहार गरेर भागेका थिए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले हत्यामा संलग्नको खोजी र अनुसन्धान भइरहेको बताए । पौडेललाई गोली प्रहार गरेका सुटरहरु गोली प्रहारपछि कोलो मोटरसाइकलमा चढेर धकधइतिर भागेको खबर आएपछि प्रहरीले तत्काल खोजी कार्य शुरु गरेको उनले बताए । तर, शनिबार बेलुकासम्म हत्यामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । 

कसरी भयो गोली प्रहार

शुक्रवार विहान करिब ११ बजे वसन्त र उनकी श्रीमती सःमिल भएको स्थान देवदहकै ढेकारमा आगो तापेर वसेका थिए । कम्पाउण्ड भित्र आगो तापिरहेका उनीहरु भएको ठाउँमा दुई जना आए । मोटरसाइकलमा आएका उनीहरु मध्ये एक जनाले उनलाई तुरुन्तै गोली प्रहार गरेका थिए । गोली पौडेलको छातीमा लागेको थियो । छातिमा गोली लागेपछि पनि उनी भाग्ने प्रयास गरेका थिए तर, केही पर तोरी बारीमा पुगेर उनी त्यहीँ ढलेका थिए । दुवै जनासँग पेस्तोल भएको आशंका स्थानीयले गरेका छन् । गोली हानेपछि उनीहरु तत्कालै दक्षिणतिर भागेका थिए । गोली लागि गम्भीर घाइते भएका पौडेललाई तत्काल उपचारका लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको थियो । 

मनोज पुनको संलग्नता

लुम्बिनी अञ्चल अस्पताल ल्याउँदासम्म पौडेलको अवस्था गम्भीर थियो ।  अञ्चल अस्पतालमा पु¥याइएसँगै उनलाई मृत घोषणा गरियो ।  त्यस लगत्तै मनोज पुन हूँ भन्ने एक जना व्यक्तिले बुटवलका केही पत्रकारलाई टेलिफोन गरेर आफूले हत्या गराएको दाबी गरे । ‘प्राइभट नम्बर’ उल्लेख भएर आएको कलमा मलेशियाबाट मनोज पुन भएको दाबी गरिएको छ ।

मलेसियाबाट मनोज पुन बोलेको हुँ भन्नेले ‘आफ्ना साथीहरुलाई सताएकाले ठोकिदिएको’ बताएको छ । सार्वजनिक भएको अडियो अनुसार टेलीफोनमा कुरा गर्ने पत्रकारले कुनै प्रश्न नगरेकाले उसले थप विवरण खोलेको छैन । फोनमा मलेसियाबाट वोलेको भनिएको भए पनि तयसलाई पुष्टि गर्ने आधार भने केही नभएको प्रहरी स्रोतको भनाइ छ । 

आखिर किन लिए त मनोज पुन भन्नेले हत्याको जिम्मा ? आखिर कहाँ छ मनोज पुन ? किन समात्न सकिरहेको छैन त प्रहरीले ? यी प्रश्न रुपन्देहीबासीको मन मनका बसेको छ । 

को हुन वसन्त ?

व्यवसायी एवं एमाले कार्यकर्ता वसन्त पौडेल एमालेका पूर्व क्षेत्रीय कमिटीका सदस्य निलकण्ठ पौडेलका एक मात्र छोरा हुन् । साविकको केरवानी गाविसको पूर्व अध्यक्ष निलकण्ठ देवदह क्षेत्रका समाजसेवीका रुपमा पनि चिनिन्छन् । उनका छोरा वसन्तलाई पनि इमान्दारका रुपमा स्थानीयले लिने गरेका छन् ।  वसन्त फर्निचर उद्योग (उज्वल सः मिल) का सञ्चालक थिए । विगतमा युवा संघको क्षेत्रीय कोषाध्यक्ष भएर काम गरेका बसन्त युवा संघपछि पार्टीको सदस्य भएर रहेका थिए । युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारीसंगै युवा संघको राजनीतिमा सक्रिय बसन्त युवा संघमा इमान्दार पंक्तिमा गनिन्थे । 

स्थानीयमा त्रास बढ्यो

यो दोस्रो घटनासँगै समुदायमा त्रास उत्पन्न भएको छ । स्थानीयहरु खुलेर प्रतिक्रिया दिन डराएका छन् । उनै मनोज पुन र उनका मान्छे बताउनेले वसन्तलाई कैयौं पटक टेलिफोन गरेर धम्क्याउने गरेका समाचारहरु सार्वजनिक भएका छन् । 

 पारिवारीक स्रोतका अनुसार यसबारेमा बसन्तले सुरक्षा निकायमा जानकारी समेत गराइरहेका थिए । तर, त्यसलाई गम्भीर रुपमा लिएर अनुसन्धान गर्नेतर्फ सुरक्षा निकाय गएको पाइएन । एमालेका स्थानीय नेताहरुका अनुसार बसन्तलाई मनोज पुनका नाममा पटक–पटक धम्की आउने गरेको थियो । दुर्गा तिवारीको हत्या लगत्तै ‘अब तेरो पालो हो’ भन्ने धम्की बसन्तले पाएका थिए । धेरै धम्की आएपछि मोवाइल नम्वर परिवर्तन गरेका उनले गुण्डागर्दी तथा आतंकको विरोध गर्दै आएका कारण अपराधीको तारो बनेको स्थानीयको भनाइ छ । 

को हो मनोज ?

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलकोे हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा राजनीतिक कार्यकर्ता थिए ।  सुरुमा माओवादी कार्यकर्ता रहेका उनी केही समय युवा संघमा प्रवेश गरेका थिए । युवा संघमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै युवा संघले करिब ५ महिनामै कारवाही गरेर उनलाई निकालेको थियो । सोही बेलाको रिसिवि फेर्न यसरी हत्या गरेको हुनसक्ने केहीको अनुमान छ । 

देवदह न.पा. ६ का बर्ष २९ को मनोज पुन भन्ने मनोज बुढा मगरको समुहले पछिल्ला वर्षहरुमा चन्दा आंतक मच्चाउदै आएको गुनासो बढ्दै गएको छ । मनोज यी हत्या भन्दा अगाडि संगठित अपराध, हातहतियार खर खजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीले जनाउदै आएको छ । गत वर्ष २०७३ पुस ४ गते भएको एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो । त्यसअघि ०७२ चैत ६ गते पनि दुर्गालाई २ वटा गोलि प्रहार गरिएकोमा उनी बचेका थिए ।  त्यतिबेला पनि मनोजकै संलग्नतामा घट्ना घटेको थियो र त्यसको करिब एक वर्ष पछि उसैको संलग्नतामा हत्या भयो । 

रूपन्देहीको देवदह नगरपालिका वडा नं.–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ  बाटोमा अपरान्ह गोली प्रहारबाट घाइते भएका तिवारीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । त्यस यता उद्योगी ब्यापारीलाई धम्की दिई फिरौती असुल्ने क्रम बढ्दो छ । तर, कुनै पनि उद्योगीले आफुलाई आएको फोन र चन्दाको धम्कीका बारेमा खुलेर प्रहरीलाई बताउन सकेका छैनन् । बेला बखतमा प्रहरीले केहीलाई पक्राउ गरेपनि मनोज पुनको जालो तोड्न अझै सकेको छैन ।  

हत्याको चौतर्फी निन्दा

पौडेल हत्याका चौतर्फी निन्दा र भ्रत्सना गरिएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीले संघका सदस्य उद्योगी, उज्जवल सःमिल उद्योगका संचालक बसन्त पौडेल (बलु) माथी भएको गोली प्रहार र विभत्स हत्याले स्तब्ध भएको जनाएको छ । अध्यक्ष नवराज न्यौपाने र महासचिव दिनेशराज रेग्मीद्धारा जारी प्रेस विज्ञप्तिमा यस्तो क्रुर र अमानवीय घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । यस्तै रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, महासचिव माधवप्रसाद पौडेलले पनि विज्ञप्ती जारी गर्दै हत्याको निन्दा तथा भ्रत्सना गरेका छन् । 

हत्यारालाई कानूनी दायरामा ल्याउन माग

यता नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । सोही ठाउँमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको प्रशंग जोड्दै एमाले नेता केसीले कुनै पनि मानेमा अभियुक्तलाई संरक्षण नगर्न ध्यानाकर्षण गराएका छन् । तिवारीको हत्या भएको  ठिक १ वर्ष पछाडि फेरी यस्तो घटना भएपछि प्रहरी प्रशासनको कमी–कमजोरी प्रष्ट देखिएको एमालेको ठहर छ । विज्ञप्तीमा भनिएको छ–आम जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन नसक्नु प्रशासनको कमजोरी हो ।
 

salt training

कमेन्ट गर्नुहोस्