०१ साउन २०८३, शुक्रबार
वाचा धेरै, काम शून्य

बञ्चरेडाँडाको दर्दनाक कथा- काठमाडौंलाई सफा राख्न दुर्गन्धमा निसास्सिँदै दर्जन बस्ती

जेठ ४, २०८३
काठमाडौं

काठमाडौं हरेक बिहान उठ्छ- सडक सफा हुन्छन्, महानगरका गाडीहरू फोहोर उठाउन शहरभर दौडिरहेका हुन्छन् ।

राजधानी आफ्नो गतिमा अघि बढिरहेको देखिन्छ । तर यही शहरलाई सफा राख्न नुवाकोटको ककनी र धादिङको धुनिवेशीका स्थानीय भने वर्षौंदेखि दुर्गन्ध, प्रदूषण र रोगको जोखिमसँग लडिरहेका छन् ।

काठमाडौंको फोहोर हट्दा गाउँको सास किन थुनिँदैछ ? यही प्रश्नको केन्द्रमा छ- बन्चरेडाँडा ल्याण्डफिल्ड साइट ।

वर्षौंदेखि काठमाडौंको फोहोर सिसडोल क्षेत्रमा फालिँदै आएको थियो । शुरूमा केही वर्षका लागि बनाइएको ल्याण्डफिल्ड समयभन्दा धेरै लामो समय सञ्चालन गरियो । स्थानीयको विरोध चर्किएपछि सरकारले बन्चरेडाँडामा नयाँ ल्याण्डफिल्ड साइट निर्माण गर्‍यो । 

सरकारले अब समस्या समाधान हुने दाबी गर्‍यो, तर समस्या समाधानभन्दा झन् जटिल बन्दै गयो ।

अहिले काठमाडौं उपत्यकाबाट निस्किने अधिकांश फोहोर बन्चरेडाँडामै पुग्छ । दैनिक सयौं ट्रक फोहोर बोकेका गाडी ओहोरदोहोर गर्छन् । ती ट्रकसँगै गाउँमा दुर्गन्ध, धुलो, हिलो र त्रास पनि भित्रिन्छ ।

बन्चरेडाँडा आसपासका स्थानीयका लागि सामान्य जीवन बिताउनसमेत कठिन बन्दै गएको छ । दुर्गन्धले उनीहरू बोल्न पनि सक्दैनन् । घरको झ्याल खोल्नसमेत सकिँदैन । बिहान उठ्दा फोहोरको गन्ध आउँछ, राति सुत्दा पनि उही गन्धले पछ्याइरहन्छ । गन्धले बोल्नै सकस भएपछि नाकमा तीतेपाती राखेर एक स्थानीयले पीडा सुनाए । 

स्थानीय भरत उप्रेतीका अनुसार बच्चादेखि वृद्धसम्म विभिन्न रोगबाट ग्रसित भइरहेका छन् । उनका अनुसार गर्मी मौसममा फोहोर कुहिँदा असह्य दुर्गन्ध हुन्छ । वर्षायाममा अवस्था अझ भयावह बन्छ । झिँगा घरभित्र पस्छन्, पानी दूषित बन्छ, खेतबारीमा समेत असर परेको उनीहरू बताउँछन् । फोहोर व्यवस्थापनको नाममा गाउँ नै प्रदूषणको केन्द्र बनेको स्थानीयको आरोप छ ।

फोहोर बोकेका भारी ट्रकका कारण विद्यालय जाने बालबालिका र बाटो हिँड्ने स्थानीय सधैं दुर्घटनाको त्रासमा बाँचिरहेका छन् ।

२०७९ सालको स्थानीय निर्वाचनपछि काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका वालेन्द्र शाह स्वयं बन्चरेडाँडा पुगेका थिए । आन्दोलनरत स्थानीयसँग संवाद गर्दै उनले फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउने, स्थानीयका समस्या समाधान गर्ने र दीर्घकालीन समाधान निकाल्ने प्रतिबद्धता जनाएका थिए । त्यतिबेला स्थानीयमा केही आशा पलाएको थियो । 

धेरैले अब समस्या समाधान हुने अपेक्षा गरेका थिए । तर समय बित्दै जाँदा स्थानीयको निराशा बढ्दै गएको छ । उनीहरू भन्छन्- सरकार फेरियो, नेता फेरिए, तर हाम्रो गाउँको दुर्गन्ध फेरिएन । अवस्था फेरिएन ।

उप्रेतीका अनुसार अहिले बन्चरेडाँडा क्षेत्रमा क्यान्सर, छालासम्बन्धी रोग, श्वासप्रश्वास समस्या, झाडापखाला र संक्रमणका घटना बढिरहेका छन् ।

स्थानीयवासी र सरकारबीच पटक–पटक सम्झौता भए । सडक निर्माण, स्वास्थ्य सेवा उपलब्ध गराउने, प्रभावित परिवारलाई राहत दिने, रोजगारीको व्यवस्था गर्ने र वातावरणीय असर कम गर्ने प्रतिबद्धता सरकारले जनायो । तर अधिकांश सम्झौता कागजमै सीमित रहेको स्थानीय हस्तबहादुर लामाले बताए । उनले बालेन्द्र शाह नेतृत्वमा आएपछि धेरै आशा पलाए पनि अपेक्षाअनुसार काम नभएको बताए । 

समस्या बढ्छ र बेला बेलामा आन्दोलन हुन्छ । काठमाडौंका सडकमा फोहोर थुप्रिन थाल्छ । त्यसपछि सरकार वार्तामा बस्छ, केही सहमति हुन्छ, फेरि फोहोर जान थाल्छ । अनि केही समयपछि उही समस्या फेरि दोहोरिन्छ ।

बन्चरेडाँडा केवल एउटा ल्याण्डफिल्ड साइट मात्रै होइन, यो राज्यका अधुरा वाचाहरूको डम्पिङ साइट बनेको छ । आश्वासनका पोका गन्हाउने फोहोर बनेको छ । गाउँमाथि थोपरिएको पीडाको प्रतीक बनेको छ ।

जबसम्म फोहोरको वैज्ञानिक व्यवस्थापन हुँदैन, स्रोतमै वर्गीकरण लागू हुँदैन र प्रभावित स्थानीयको जीवनलाई प्राथमिकतामा राखिँदैन, तबसम्म बन्चरेडाँडाको दुर्गन्ध गाउँमा मात्र सीमित रहने छैन । त्यो राज्य व्यवस्थाको असफलताको गन्ध बनेर फैलिरहनेछ ।

भिडियो सामग्री :

 

salt training

कमेन्ट गर्नुहोस्