
काठमाडौं, २३ पुस– संवैधानिक निकायका प्रमुखको भेटबारे निर्वाचन आयोगले नियमित भेटघाट भएको स्पष्ट पारेको छ ।
भेटबारे विभिन्न टिप्पणी हुन थालेसँगै ४ दिनपछि आयोगले विज्ञप्ति निकालेको हो ।
आयोगका प्रवक्ता नवराज ढकालले एक विज्ञप्ति जारी गर्दै पुस १९ गतेको भेटघाटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग तथा महालेखा परीक्षकको कार्यालयका पदाधिकारी एवंसचिवहरूको उपस्थिति रहेको उल्लेख गरेका छन् ।
सो अवसरमा संवैधानिक निकायहरूबीच आपसी सौहाद्र्धता बढाउन एवं समसामयिक सरोकारका विविध विषयमा छलफल गरी सेवा प्रवाहमा चुस्तता ल्याउने उद्देश्यले अनौपचारिक रूपमा सम्पूर्ण निकायका पदाधिकारीहरूबीच आपसी छलफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यस्तो अनौपचारिक कार्यक्रम प्रत्येक महिनाको एक पटक चक्रीय रूपमा सबै संवैधानिक निकायमा आलोपालो गरी बस्ने समझदारी यसपूर्व नै भइसकेको भन्दै पहिलो पटक लोकसेवा आयोग, दोस्रो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र यो तेस्रो पटक निर्वाचन आयोगमा आयोजना गरिएको ढकालले जनाएका छन् ।