
कोशीमा नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र सत्ता समीकरणको दाउपेचले नयाँ मोड लिएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा यतिबेला मुख्यमन्त्री बन्ने उत्कट अभिलाषाका साथ पालो कुरेर बसिरहेका छन् ।
तर, थापाको मुख्यमन्त्री बन्ने मोहले पार्टीभित्रको आन्तरिक समीकरणलाई भने अस्थिर बनाइदिएको छ । एकातिर थापाले आफ्नो समूह (लाइन) परिवर्तन गरेर संस्थापन पक्षसँग सामीप्य बढाएका छन् भने अर्कोतिर पार्टीको ‘इतर पक्ष’ उनलाई संसदीय दलको नेताबाटै विस्थापित गर्ने गोप्य तयारीमा जुटेको छ ।
मुख्यमन्त्री बन्ने एउटै उद्देश्यका लागि थापाले विगतको आफ्नो गुटगत आबद्धता त्यागेर संस्थापनको छहारी रोजेपछि प्रदेश कांग्रेसभित्र तरङ्ग पैदा भएको नेताहरू बताउँछन् ।
केही समयअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कोशी प्रदेशमा एमालेले र सुदूरपश्चिम प्रदेशमा कांग्रेसले पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने ‘भद्र सहमति’ भएको चर्चा थियो । तर, बदलिँदो राजनीतिक घटनाक्रमसँगै केन्द्रमा देउवा सत्ता बाहिर पुगेका छन् भने ओलीको शक्ति संरचनामा पनि पहिलाको जस्तो सहजता छैन ।
एमाले सचिव भानुभक्त ढकालले कोशी र सुदूरपश्चिमको विषयमा नयाँ निर्णय हुन सक्ने संकेत गरेका छन् । ढकालका अनुसार विगतमा दुई दलका शीर्ष नेताबीच भएको पाँच वर्षे कार्यकालको सहमति एउटा विशिष्ट परिस्थितिमा भएको थियो, तर अहिले कांग्रेसको नेतृत्व र राजनीतिक अवस्था फेरिएको छ । एमालेको जारी सचिवालय बैठकले यी दुई प्रदेशका बारेमा ठोस निर्णय लिने उनले बताए ।
थापा भने आलोपालोको पुरानो सहमतिअनुसार अब आफ्नो पालो आउनुपर्ने अडानमा छन् । उनी जसरी पनि मुख्यमन्त्रीको कुर्सीसम्म पुग्न केन्द्रका नेताहरूलाई रिझाउने कसरतमा लागेका कांग्रेसकै एक नेताको टिप्पणी छ ।
मुख्यमन्त्रीको कुर्सी सुरक्षित गर्न थापाले पछिल्लो समय आफ्नो राजनीतिक कित्ता नै परिवर्तन गरेको स्रोतको दाबी छ । यसअघि कृष्णप्रसाद सिटौला निकट मानिने थापा अहिले संस्थापन पक्ष, विशेषगरी उपसभापति विश्वप्रकाश शर्मासँग नजिकिएका छन् ।
पछिल्लो समय शर्माले उनलाई राजनीतिक संरक्षण दिइरहेको चर्चा कांग्रेस वृत्तमा व्याप्त छ । थापाको यो ‘लाइन परिवर्तन’ले विशेष महाधिवेशनको पक्षमा रहेका सांसदहरूलाई भने नराम्ररी चिढ्याएको छ । हिजो पार्टी सुधारका लागि विशेष महाधिवेशनको पक्षमा उभिँदा थापाले त्यसको घोर विरोध गरेको तर आज पद पाउने आशमा लुसुक्क लाइन परिवर्तन गरेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
थापा संस्थापनतिर लागेपछि इतर पक्षले कोशीमा संसदीय दलको नेता नै फेर्ने खेल शुरू गरिसकेको छ । तर, यो खेललाई उनीहरूले निकै सावधानीपूर्वक अगाडि बढाएका छन् । इतर पक्षका नेताहरूका अनुसार अहिले नै नेतृत्व परिवर्तनको कुरा उठाउँदा केन्द्रमा विश्वप्रकाश शर्माले अन्य प्रदेशसँग सौदाबाजी गर्न सक्ने डर छ । त्यसैले पहिला कांग्रेसको नेतृत्वमा सरकार बन्ने सुनिश्चित गर्ने र त्यसपछि मात्र दलको नेता परिवर्तन गर्ने उनीहरूको भित्री रणनीति छ ।
इतर पक्षका सांसदहरूले थापालाई ‘तपाईंले लाइन परिवर्तन गर्नु भएको हो ?’ भनी प्रश्न गर्ने र केन्द्रमा दबाब बढाउने तयारी समेत गरेका छन् । केन्द्रीय सदस्य अमृत अर्यालले विशेष महाधिवेशनको विरोध गर्नेले नै अहिले पदका लागि मरिहत्ते गरेको भन्दै थापाको नैतिकतामाथि प्रश्न उठाएका छन् ।
समीकरण बदलेर संस्थापन पक्षमा ओत लाग्न पुगे पनि थापाले सोचेजस्तो ‘स्पेस’ र सम्मान पाउन सकेका छैनन् । उनी सत्ताको केन्द्रमा पुग्न खोज्दा आफ्नै पार्टीभित्रै पेलानमा पर्न थालेका छन् । यसको पछिल्लो उदाहरण प्रदेश लोक सेवा आयोगको सदस्य नियुक्तिमा देखिएको छ । थापाले सिफारिस गरेका व्यक्ति आयोगको सदस्य बन्न असफल भए । महामन्त्री गुरुराज घिमिरेको सिफारिसमा रुमा थापा ओझाले नियुक्ति पाइन् ।
बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पनि अर्यालले नियुक्तिको सिफारिस कहाँबाट भइरहेको भन्दै प्रश्न गरेका थिए ।
कोशी प्रदेशको संसदीय दलको गणित पनि थापाका लागि निकै प्रतिकूल र चुनौतीपूर्ण देखिन्छ । कूल २९ जना कांग्रेस सांसदमध्ये हाल विनोद वान्तवा, हिमाल कार्की अमृत अर्याल, डोल्मा तामाङ, उद्धव थापा मात्रै संस्थापन पक्षमा खुलेका छन् ।