
काठमाडौं, २४ पुस– प्रिमियर लिग फुटबल क्लब आर्सनल एफ कपको तेस्रो चरणबाटै बाहिरिएको छ । पराजयपछि आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरको आलोचना भएको छ ।
आर्सनल प्रशिक्षक बिहीन नोटिङ्हम फरेस्टसँग ४–२ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएको हो । नोटिङ्हम फरेस्टको जितमा लिकाजले दुई तथा ब्रेरेटन र डोवेलले एक एक गोल गरे । ब्रेरेटन र डोवेल दुवैले पेनाल्टीमा गोल गरेका हुन् । आर्सनलका लागि पर मर्टेसाकर र ड्यानी वेलबेकले गोल गरे ।
१० खेलाडीमा सीमित भएर पनि नोटिङ्हमले स्टार खेलाडीले भरिएको आर्सनललाई पराजित गरेको हो । ८४ औँ मिनेटमा वोर्राल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नोटिङ्हम १० खेलाडीमा सीमित भयो ।
राति नै भएका खेलमा टोटनह्यामले विम्बल्डनलाई ३–० ले हराएर अघिल्लो चरणमा स्थान बनाएको छ । यस्तै न्युपोर्टले लिड्सलाई हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको छ ।