२६ असार २०८३, शुक्रबार

अमेरिका विश्वबाट एक्लिँदा कस्तो परिणाम आउला ?

अमेरिका विश्वबाट एक्लिँदा कस्तो परिणाम आउला ?

काठमाडौं, २४ पुस — एक वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनाव जितेर डोनल्ड ट्रम्पले सबैलाई तीनछक्क पारिदिएका थिए । 

उनका समर्थकहरूले उनको जीतको श्रेय ‘अमेरिका फर्स्ट’ नीतिलाई दिए । यसै नीतिमार्फत ट्रम्पले अमेरिकालाई फेरि महान् बनाउने अर्थात् मेक अमेरिका ग्रेट अगेनलाई नाराका रूपमा प्रयोग गरिरहेका छन् ।

उनले यसअन्तर्गत सुरक्षा, अमेरिकी हित र अमेरिकी नागरिकका चिन्तालाई प्राथमिकता दिने वाचा गरेका छन् ।

राष्ट्रिय सुरक्षा, अर्थव्यवस्थामा गति, सैन्य शक्तिमा वृद्धि, सीमा सुरक्षा र सम्प्रभुताको वाचा पनि उनले गरे । 

अमेरिका र अमेरिकी नागरिकको हितमा कुनै सम्झौता नगर्नेमा उनको जोड छ । तर ट्रम्पको रणनीतिक बयान र अवधारणामा विरोधाभास प्रस्ट देखिन्छ । 

दोस्रो विश्वयुद्ध सकिएपछि अमेरिकाले संसारबाट अलग्गै रहने नीति त्यागिदिएको थियो । अमेरिकाले त्यसबेलादेखि विश्वसँग सम्पर्क बढाउन र विश्वशान्ति कायम गर्न आवाज उठाइरह्यो । 

यी दुवै कुरा अमेरिकी नीतिमा प्राथमिकताका रूपमा रहेका छन् । दोस्रो विश्वयुद्धपछि विश्वव्यापी संस्थाहरूको निर्माण भयो र तिनमा व्यापक रूपमा लगानी पनि ग–यो ।

संयुक्त राष्ट्रसंघ तथा विश्व बैंक जस्ता संस्थाहरूलाई अमेरिकी वैश्विक दृष्टिकोणको प्रमाणका रूपमा हेर्न सकिन्छ । अमेरिका आफू संसारको नेतृत्व गर्ने दाबी पनि गर्छ अनि अमेरिका फर्स्ट नीतिको वकालत पनि गर्छ । 

यी दुवै कुरा एकैचोटि सम्भव छैन । त्यसैले हामी ट्रम्पको नीतिमा विरोधाभास प्रस्टै रूपमा देख्न सक्छौं । 

अचेल अमेरिका विश्व राजनीतिमा अलग्गै देखिन थालेको छ । ट्रम्पले अनायासै जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिए । तर संयुक्त राष्ट्रसंघको सभामा यस विषयमा भएको मतदानमा अमेरिका एक्लियो । 

अमेरिका फर्स्ट नीतिअन्तर्गत विश्वव्यापी आर्थिक प्रतिबद्धतासँग जोडिएका फन्डको कटौतीका कारण उसलाई तात्कालिक फाइदा त होला । तर दीर्घकालीन रूपमा उसले नोक्सानी उठाउनुपर्ने हुन्छ । 

अमेरिका यस नीतिका साथ संसारको नेतृत्व गर्न सक्दैन । उदाहरणका रूपमा, पेरिसमा भएको जलवायु परिवर्तनको सम्झौतालाई हेर्न सकिन्छ । 

अमेरिका त्यहाँ पनि ट्रम्पका कारण एक्लियो । उक्त सम्झौता यस शताब्दीमा भएको जलवायु परिवर्तनको सबभन्दा महत्त्वपूर्ण वैश्विक घटना हो । 

अमेरिका यसरी संसारबाट एक्लिएपछि फ्रान्स र चीनले यसमा नेतृत्व गरिरहेका छन् । 

आधी शताब्दीसम्म अमेरिकाले नेतृत्व लिएको भएपनि अब उसले बाँकी संसारबाट ध्यान हटाएर देशकै चिन्तालाई सम्बोधन गर्नुपर्ने सोच लिएको देखिन्छ । 

यस्तो स्थितिमा संसार एक नयाँ नेतृत्वतर्फ हेरिरहेको छ । युरोपेली देशहरूले जर्मनीको चान्सलर एंगेला मर्कलले नेतृत्व लिने आश गर्छन् । जर्मनी अहिले लोकतान्त्रिक देशहरूको नेताका रूपमा उदाएको छ जबकि त्यसमा
अमेरिकाको एकाधिकार थियो । 

सन् २०१७ को अक्टोबरमा प्रसिद्ध पत्रिका दी इकोनोमिस्टले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई संसारका सबभन्दा बलिया नेताको संज्ञा दिएको थियो । यी घटनाक्रमहरूबाट पनि हामी अमेरिकाको नेतृत्व कता जाँदैछ भनी आँकलन गर्न सक्छौं । 

अमेरिका अन्य देश र उनीहरूको समस्याप्रति उदासीन देखिन्छ । त्यसैले क्षेत्रीय संगठनहरू आसियान, अफ्रिकी युनियन, युरोपेली युनियन अनि चीन, जर्मनी र भारतजस्ता ठूला देशप्रति साना देशको आशा छ । 

कुनै पनि देशसँग अमेरिकाको ठाउँ ओगट्ने आर्थिक वा सैन्य क्षमता छैन । तर वैश्विक समाज क्षेत्रीय समूहहरूमा बाँडिने र देशहरूले क्षेत्रीय आधारमा सुरक्षा र आर्थिक सहयोग पाउने अनुमान गर्न सकिन्छ । 

अमेरिकापछिको शक्तिशाली देश चीनसँग पनि पृथ्वीको जुनसुकै कुनामा शक्ति प्रदर्शन गर्ने सैन्य तागत छैन । उसले सीमित दायरामा संसारको नेतृत्व गर्न सक्छ । 

चीनको अर्थव्यवस्था बलियो छ किनकि उसले वैश्विक स्तरमा अमेरिकाजस्तै संसाधनहरूमा खर्च गरिरहेको छैन । चीनको अर्थव्यवस्था विश्वको दिशा सन्तुलित गर्ने भार उठाउन सक्छ त भन्ने प्रश्न छ । 

अमेरिका अझै पनि विश्व नेतृत्वको उत्तम विकल्प हो । उसले आफूमा मात्र सीमित नरहेर संसारसँग मिलेर अगाडि बढ्नु ठीक हुन्छ । 

बीबीसी हिन्दीमा प्रकाशित प्राध्यापक मुक्तदर खानको विश्लेषणको भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्