
काठमाडौं २४ पुस– सर्वोच्च अदालतको मानहानी आरोपमा पक्राउ परेका डा. गोविन्द केसीले कानून पालनाको लागि गिरफ्तारी दिएको बताएका छन् ।
सोमवार राति अनशन स्थलबाटै पक्राउ हुनुपूर्व डा. केसीले अदालतमा भ्रष्टाचार रहेको दोहोराए । ‘प्रधानन्यायाधीशले भनेर होइन, तपाईहरु आउनुभयो त्यसैले म जाँदैछु’ केसीले भने ।
त्यसअघि प्रहरीले पक्राउ पुर्जी पढेर सुनाएको थियो । काठमाडौं प्रहरीका प्रवक्ता रामदत्त जोशी को टोलीले डा केसीलाई पक्राउ गरेको हो ।
नेपाल प्रहरी अस्पतालको ७२६६ नम्बरको एम्बुलेन्समा राखेर डा केसीलाई सिंहदरबार लगिएको छ ।
सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा केसीलाई भोलि बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सोमवार नै गृह मन्त्रालय मार्फत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डा शशी शर्मालाई पुर्नवहाली गर्ने सर्वोच्चको आइतवारको फैसला विरुद्ध डा केसी सोमवारदेखि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनमा बसेका थिए ।
अनसनमा बसेका केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्ट र माफियाको आरोप लगाएका थिए ।