
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कपिलवस्तु, प्यूठान र अर्घाखाँचीमा नयाँ कार्यसमिति चयन गरिएको छ । कपिलवस्तुमा आइतबार सम्पन्न निर्वाचनबाट शिवकुमार सुवेदी जिल्ला सभापतिमा भारी मतका साथ निर्वाचित भएका छन्। सुवेदीले २३५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विक्रम थापाले मात्र ३५ मत पाए।
त्यसैगरी उपसभापति पदमा १८० मतसहित रामनिवास पुरी विजयी भए भने उनका प्रतिस्पर्धी चिरञ्जीवी शर्माले ८२ मत मात्र प्राप्त गरे।
सचिवमा यामलाल आचार्य २०९ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी गुरुदेव पौडेलले ६० मत मात्र ल्याउन सके। सहसचिवमा देवेन्द्रकुमार शर्माले १२३ मत ल्याएर मोहम्मद अलीलाई पराजित गरे, अलीले ९६ मत प्राप्त गरेका थिए।
कार्यसमिति सदस्यहरूमा रविन कार्की, हेवन्तकुमार श्रेष्ठ, रामनिवास चौधरी, विष्णु प्रसाद घिमिरे, शिवप्रसाद पाण्डेय, मोहनकुमार क्षेत्री, परमात्म प्रसाद मिश्र, शिवपुजन चाई, विनोद केवट, कृष्णप्रसाद भण्डारी, दिपक रजौरिया, शरद अधिकारी, इसताहक अहमद र तेजप्रसाद पौडेल चयन भएका छन्।
यस्तै प्यूठानको प्रथम अधिवेशनबाट विकास पोखरेल सभापतिमा निर्वाचित भएका छन्। पोखरेलले १५३ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धी बमबहादुर सुनारलाई पराजित गरे भने सुनारले ४४ मत मात्र प्राप्त गरे।
उपसभापतिमा केशवबहादुर महतरा १५९ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी दलबहादुर केसीले ३७ मत पाए। सचिव पदमा यज्ञवीर पाण्डे १०६ मतसहित विजयी बने भने बलबहादुर महतरा ८१ मतमा सीमित भए।
सहसचिवमा डा. ओमहरि भट्टराईले ११९ मत ल्याएर मदनकुमार पोखरेललाई पराजित गरे, पोखरेलले ५० मत प्राप्त गरेका थिए। प्यूठानको सदस्य पदमा विशाल पौडेल, शिशिर रिजाल, शंकर भण्डारी, खिमे सुनार, विमला रावल क्षेत्री, सीता थापा र विपना सुनार निर्विरोध चयन भएका छन्।
त्यसैगरी अर्घाखाँचीमा भएको कडा प्रतिस्पर्धामा सीता पराजुली सभापति पदमा निर्वाचित भएकी छन्। पराजुलीले आफ्ना निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १२ मतान्तरले पछि पार्दै नेतृत्व हात पारेकी हुन्, जसमा पराजुलीले ९१ मत प्राप्त गर्दा सुनारले ७९ मत मात्र ल्याउन सके।
उपसभापतिमा सहयोगी विसी ११६ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी कमल मरासिनीले ८४ मत ल्याए। सचिवमा चिरन सुनारले १५० मत प्राप्त गरी बाजी मारे भने प्रतिस्पर्धी यज्ञ पौडेलले ४३ मतमा चित्त बुझाए।
सहसचिव पदमा भने लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित भएका छन्। कुल ११ जना प्रतिस्पर्धी मैदानमा उत्रिएको खुला सदस्य पदमा वेदराज घिमिरे, पिताम्बर सेजवाल र चुरामणि ढुंगाना निर्वाचित भएका छन् भने महिला सदस्य पदमा रमा पौडेल निर्वाचित भएकी छन्।