
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले संसद्मा संकल्प प्रस्ताव पेस गरेका छन् ।
उनले सत्तापक्ष र विपक्षीका कारण निरन्तर सदन अवरोध भइरहेको भन्दै संकल्प प्रस्ताव पेस गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ७९ (१) को ‘ग’मा टेकेर आफूले यो प्रस्ताव पेस गरेको उनको भनाइ छ ।
राईले पेस गरेको संकल्प प्रस्तावमा जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र (बालेन)ले सीमाका विषयमा बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीको लिखित वक्तव्य समावेश गरि आगामी दिनमा नेपाल सरकारको प्रधानमन्त्री, मन्त्रीहरू, प्रतिनिधिसभा सदस्यहरू कोही कसैले यस्तो अभिव्यक्ति कहीँकतै नदिने, दिन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
साथै, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्तापक्ष या प्रतिपक्ष नभनी सबैले दलीय या वर्गीय स्वार्थ र तहभन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने संकल्प प्रस्ताव गरौं भन्ने हर्कको प्रस्ताव छ ।
‘यो प्रस्ताव पारित गरेर हामीले यो गाँठोलाई फुकाऔं । जनताले भोलि हामीलाई आफ्नो निर्वाचन क्षेत्रमा जान दिन्छन् जस्तो मलाई लागेको छैन’, हर्कले भने, ‘सत्तापक्षलाई पनि गाली गरिरहेका होलान्, हामीलाई पनि गरेका छन् ।’
सभामुखले समय दिएपछि बोल्ने क्रममा उनले ‘सबैलाई माया र सम्झना छ’ भन्दै शुरू गरेका थिए । उनले ‘अब यो शैलीमा नबोली नहोला जस्तो छ’ भन्दै आफ्नो प्रस्ताव वाचन गरेका थिए ।
‘हामी धेरै नै औपचारिक भयौं । गाँठो पर्यो । यसको जिम्मेवार म पनि हो । प्रधानमन्त्रीलाई पक्डेर ल्याउने चलन छैन । सभामुखले आउनुपर्छ भन्दा उहाँ आउनुहुन्न’, हर्कले भनेका थिए, ‘कहिलेकाहीँ आउनुहुन्छ । आएर के बोल्नुहुन्छ बोल्नुहुन्छ फेरि समस्या हुन्छ ।’
विपक्षी दलको अवरोधका कारण मंगलबारको प्रतिनिधिसभा बैठक पनि कार्यसूचीमा प्रवेश नगरेर भोलि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।