
दोस्रो पटक गृहमन्त्रीको शपथ लिएका सुधन गुरुङको स्वागतमा गृह मन्त्रालयको मुख्यद्वारमा पित्तलको घडा र दही राखिएको छ ।
सरकारले बनाएको सम्पत्ति छानबिन समितिले क्लिन चिट दिएपछि गुरुङलाई मंगलबार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सिफारिसमा गृहमन्त्रीको शपथ खुवाइएको हो ।
पहिलो पटक गृहमन्त्री हुँदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसम्म पक्राउ गरेर चर्चामा आएका गुरुङको दोस्रो पटकको शपथलाई धेरैले चासोका साथ हेरेका छन् ।
व्यक्ति पक्राउ पर्नेबित्तिकै सामाजिक सञ्जालमा ‘गुड मर्निङ र आयो गोर्खाली’ लेखेर आफूलाई एक्सन ओरियन्टेड मन्त्रीका रूपमा स्थापित गरेका गुरुङले आगामी दिनमा कसरी आफ्नो कार्यशैली अगाडि बढाउनेछन् भन्ने धेरैको चासो छ ।
राष्ट्रपति कार्यालयमा शपथ खाएपछि गुरुङले आजै पदभार ग्रहण गर्दैछन् । पदभार गरेलगत्तै उनले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिने कार्यक्रम छ ।
विशेषगरी प्रहरीका नीतिगत काम गृहमन्त्री नभएकै कारण अड्किएका छन् । यसअघि प्रधानमन्त्री शाहले गृहमन्त्री आफैंसँग राखेका थिए । विशेषगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्वले पटकपटक प्रयास गर्दा पनि प्रधानमन्त्री शाहलाई भेट्न नपाएपछि काम अड्किएका थिए ।
अहिले डीआईजीको सरुवा रोकिएको छ । डीआईजीको सरुवा गृहमन्त्रीस्तरीय निर्णयबाट हुने व्यवस्था प्रहरी नियमावलीमा छ । अब गुरुङको पदभारपछि डीआईजीको सरुवाले पूर्णता पाउने विश्वास छ ।
नयाँ बनेको नेपाल प्रहरी ऐन र सशस्त्र प्रहरी ऐनले कानूनी वैधता पाएको छैन । अब गृहमन्त्री गुरुङले ऐन पारितका लागि पहल गर्ने विश्वास दुवै संगठनले लिएका छन् ।
अघिल्लो कार्यकालमा गुरुङले प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पुगेर गरेका वाचा पनि अधुरै छन् । उनले विगतका वाचा अब कसरी पूरा गर्छन्, उनको आगामी कार्यदिशाले बताउने नै छ ।
विपद् उद्धारका लागि सशस्त्र प्रहरीलाई हेलिकप्टर, प्रहरी र सशस्त्र प्रहरीको पोशाक आफ्नै देशमा उत्पादन गर्नेदेखि प्रहरीको आईजीपीको फुली प्रधानमन्त्रीको हातबाट लगाउने व्यवस्था आफूले गर्ने वाचा गुरुङले अघिल्लो कार्यकालमा गरेका थिए ।