
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नवनियुक्त दुई मन्त्री सुधन गुरुङ र महावीर पुनले शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार गुरुङलाई गृह र पुनलाई विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,सभामुख डोलप्रसाद अर्याल,राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । मन्त्रिपरिषद् विस्तार गर्दा पनि रक्षामन्त्री भने नयाँ बनाइएको छैन । बालेनले आफैसँग उक्त मन्त्रालय राखेका छन् ।
००००
दोस्रोपटक जिम्मेवारी सम्हालेका गृहमन्त्री सुधन गुरुङले मंगलबार पदभार ग्रहण गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दाको समीक्षा,नारायणहिटी दरबार हत्याकाण्डको थप छानबिन तथा सुरक्षा निकायभित्र सूचना चुहावट नियन्त्रणलगायत चार महत्त्वपूर्ण निर्णय गरेका छन्।
कार्यभार सम्हाल्ने क्रममा गृहमन्त्री गुरुङले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन गरिएका मुद्दा फिर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदललाई आवश्यक छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइने मन्त्री गुरुङले बताए ।
००००
नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश,जनसंगठन र विभिन्न निकायबाट सुझाव संकलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलको मंगलबार बसेको पहिलो बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आगामी दिनमा विभिन्न तहका पार्टी नेतृत्वसँग छलफल र भेला आयोजना गरी सुझाव संकलन गरिने जानकारी दिए ।
००००
सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।
००००
फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
'फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ,' उनले भने, 'आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरु हुन्छ ।'
००००
काठमाडौँ जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत किर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना नै नक्कली बनाएको भेटिएपछि एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।
गोरखाको आरुघाट गाउँपालिका–७ घर भई हाल काठमाडौँको टोखा बस्ने २६ वर्षीय विवस अधिकारीले यसरी किर्ते गरेको अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो ।
००००
४८ दिनपछि दोस्रोपटक गृह मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै सुधन गुरूङले नारायणहिटी दरबार हत्याकाण्ड छानबिन गर्ने बोल्ड निर्णय गरेका छन् ।
तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको परिवारको वंशनाश हुनेगरी २०५८ सालको जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डको छानबिन गर्ने कुरा गरेर सुधनले नसुल्झिएको २५ वर्ष अगाडिको कहालीलाग्दो घटना स्मरण गराइदिएका छन् ।
००००
औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन लगायतका औषधिको बजारमा सीमित उपलब्धता रहेको जनाएको छ ।
विभागले मंगलबार सूचना जारी गर्दै विश्वव्यापी आपूर्ति शृङ्खलामा देखिएको अवरोध तथा अन्य विभिन्न कारणले क्यान्सर उपचारमा प्रयोग हुने ती औषधिको नियमित आपूर्तिमा समस्या देखिएको जनाएको हो ।
००००
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले संसद्मा संकल्प प्रस्ताव पेस गरेका छन् ।
उनले सत्तापक्ष र विपक्षीका कारण निरन्तर सदन अवरोध भइरहेको भन्दै संकल्प प्रस्ताव पेस गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ७९ (१) को ‘ग’मा टेकेर आफूले यो प्रस्ताव पेस गरेको उनको भनाइ छ ।
राईले पेस गरेको संकल्प प्रस्तावमा जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र (बालेन)ले सीमाका विषयमा बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीको लिखित वक्तव्य समावेश गरि आगामी दिनमा नेपाल सरकारको प्रधानमन्त्री, मन्त्रीहरू, प्रतिनिधिसभा सदस्यहरू कोही कसैले यस्तो अभिव्यक्ति कहीँकतै नदिने, दिन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
००००
नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभामा मौनधारण गरेका छन् । विभिन्न आन्दोलन तथा जेन–जी विद्रोहका शहीदहरूप्रति उनीहरूले पाँच मिनेट मौनधारण गरेका हुन् ।
कांग्रेसको मौनधारणअघि सचेतक निश्कल राईले सम्बोधन गरेका थिए । उनले पाँच मिनेट मौन धारण गर्ने घोषणा गरे । लगत्तै कांग्रेससहित नेकपा एमाले र विपक्षी सांसदहरू उठेका थिए ।
००००
सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
००००
फिफा विश्वकप फुटबल हेर्न क्यानडा जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।
विश्वकप हेर्न क्यानडा जाँदै गरेका उनीहरूलाई मंगलबार बिहान विमानस्थलबाटै फिर्ता गरिएको अध्यागमन कार्यालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए ।