
काठमाडौं २५ पुस– नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले डा गोविन्द केसीको पक्राउको विरोध जनाएका छन् । एमाले सचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मंगवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै डा केसीको पक्राउले अदालतको गरिमा नबढ्ने बताएका हुन् ।
‘डा गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादति हो । अदालतको मानहानीलाई सत्याग्रही बिरुद्ध हतियार बनाईनु नितान्त गलत छ । फेरि दोहोर्याएर भन्छु, अदालत भगवान होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो।त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन्’ माओवादी नेता श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।
एमाले सचिव प्रदीप ज्ञवालीले लेखेका छन, ‘डा. केसीका माग र विरोधको शैली सम्बन्धमा वहस हुन सक्छ । तर अदालत उहाँको विरुध्द जसरी प्रस्तुत भयोर भइरहेको छ, त्यसलाई किमार्थ उचित मान्न सकिन्न । कामर निर्णयमा प्रतिशोध, पूर्वाग्रह या अन्यथा गन्ध भेटियो भने न्यायालयको मान बढ्दैन, उल्टो घट्छ ।’
अदालतको अपहेलना गरेको भन्दै सर्वोच्चको आदेश अनुसार प्रहरीले डा केसीलाई सोमवार पक्राउ गरेको थियो । डा केसीलाई अहिले बयानका लागि सर्वोच्च अदालतमा पुराइएको छ ।