
काठमाडौं, २५ पुस — सिंहलाई जंगलको राजा मानिन्छ । तर तान्जानियाको जंगलमा दुई दुईवटा सिंह एउटा सानो कुकुरसँग डराएका छन् ।
तान्जानियाको वाइल्डलाइफ जोनको एक रमाइलो भिडियो सार्वजनिक भएको छ जसमा एउटा सिंह र सिंहिनी सानो कुकुरसँग डराइरहेका देखिन्छन् ।
न्गोरोन्गोरो आरक्षण क्षेत्रमा रेकर्ड गरिएको भिडियोमा सानो कुकुर दौडँदै दुई सिंहनजिक पुगेको देखिन्छ । शुरुमा त सिंह कुकुरलाई देखेर छक्क पर्छ र पछि हट्छ । अनि कुकुर चाहिँ भुक्दै भुक्दै उसतर्फ बढ्छ ।
कुकुर सानो भएकाले सिंहको खुट्टाजत्रो पनि देखिँदैन तैपनि ऊ फुर्तीका साथ सिंहलाई आक्रमण गर्न खोज्छ । कुकुरले झम्टिन खोज्दा सिंह आफूलाई बचाउन खोज्छ र सिंहिनी पनि पछि हट्छे ।
सिंह र सिंहिनीमाथि बेस्सरी भुकेपछि कुकुर आरामले एकातिर हिँड्छ । सिंह र सिंहिनी चाहिँ शान्तिका साथ उसलाई हेरिरहन्छन् । भिडियो बनाउने मान्छेहरू छक्क परेर यो दृश्य हेरिबस्छन् ।
भिडियोलाई सामाजिक सञ्जालमा अप्लोड गरिएपछि अनेकौं कमेन्ट आइरहेका छन् । कुकुर सिंहको साथी हो कि क्या हो, नभए नजिकै आएको शिकारलाई सिंहले के छोड्थ्यो भनी एकजनाले लेखे । अर्काले चाहिँ सिंहले यति सजिलो शिकार गर्दैन, त्यसैले फुच्चे कुकुरलाई जान दियो भनी लेखे ।
हेरौं भिडियो :
एजेन्सी