
नेपाली समयअनुसार शुक्रबार बिहान मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलमा जे देखियो, त्यसले सबैलाई अचम्मित पारेको छ। मेक्सिकोले २-० ले जितेको उक्त खेलमा तीनजना खेलाडीले रातो कार्ड पाए ।
दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वानलाई मैदानबाट बाहिर पठाइयो भने खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्ड खाए।
सन् २०१८ (रुस) र २०२२ (कतार) का दुवै विश्वकपमा पूरा प्रतियोगिताभर जम्मा चार-चारवटा मात्र रातो कार्ड देखाइएको थियो। तर २०२६ को विश्वकपको पहिलो खेलमै लगभग त्यति नै संख्या पुगिसकेको हो ।
एकै खेलमा तीनजना खेलाडी निकालिएको यो २० वर्षपछिको पहिलो घटना हो। यसअघि २००६ को विश्वकपमा यस्तो भएको थियो, जहाँ कुल २८ खेलाडीले रातो कार्ड पाएका थिए। के अब फेरि कार्डको वर्षा हुने दिनहरू फर्किएका हुन् ?
फिफाका रेफ्री प्रमुख पियरलुइगी कोलिनाको नेतृत्वमा पछिल्ला वर्षहरूमा 'गोल गर्ने स्पष्ट अवसर रोकेको' अवस्थामा रातो कार्ड दिने नियममा केही लचकता अपनाइएको थियो।
कोलिनाले प्रतियोगिता अघि नै समय खेर फाल्ने र खेलाडीको खराब व्यवहार प्रति कडा हुने संकेत दिएका थिए। यद्यपि, एउटै खेलमा तीनवटा रातो कार्ड देखिनुलाई एउटा 'अपवाद' को रूपमा पनि लिन सकिन्छ।
१०४ खेल हुने यस ठूलो प्रतियोगितामा पहिलो खेलकै आधारमा रेफ्रीहरू धेरै कडा भए भन्नु हतार हुन सक्ने बीबीसी स्पोर्टस्ले उल्लेख गरेको छ । अहिले नै रेफ्रीहरूको बारेमा चिन्तित भइहाल्नु पर्ने अवस्था भने नरहेको समाचारमा उल्लेख ५ ।
तीन कार्डहरूको विश्लेषण
१. याया सिथोले (दक्षिण अफ्रिका)
मेक्सिकोका ब्रायन गुटिएरेजलाई लडाएपछि उनलाई रातो कार्ड दिइयो। उनले गोल गर्ने स्पष्ट अवसर रोकेकाले रेफ्री विल्टन साम्पायोको यो निर्णय सही मानिएको छ।
२. थेम्बा ज्वान (दक्षिण अफ्रिका)
यो निर्णय निकै विवादित रह्यो। भिडियो असिस्टेन्ट रेफ्रीको सल्लाहमा उनलाई 'हिंसात्मक व्यवहार' को लागि रातो कार्ड दिइयो। रिप्लेमा ज्वानको हात मेक्सिकन खेलाडीको टाउकोमा लागेको देखिए पनि त्यो नियोजित थियो वा थिएन भन्नेमा शंका छ। यो निर्णय निकै कडा देखिन्छ।
दक्षिण अफ्रिकाका खुलिसो मुडाउलाई लडाउँदा मोन्टेसलाई रातो कार्ड दिइयो। सुरुमा पहेँलो कार्ड जस्तो देखिए पनि मुडाउ गोल गर्ने स्थितिमा रहेकाले रेफ्रीको निर्णयलाई सही मान्न सकिन्छ।