
फिफा विश्वकपअन्तर्गत अमेरिकी भूमिमा हुने पहिलो खेलमा आज घरेलु टोली संयुक्त राज्य अमेरिका र पाराग्वे भिड्दै छन्। लस एन्जलसमा अवस्थित सोफाइ स्टेडियममा नेपाली समयानुसार शनिबार बिहान पौने ७ बजे खेल शुरू हुनेछ ।
विश्व फुटबलमा आफ्नो बलियो उपस्थिति प्रमाणित गर्न अमेरिकी टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण मानिएको छ।
स्टेडियममा अमेरिकी समर्थकहरूको तुलनामा पाराग्वेका प्रशंसकहरूको सङ्ख्या निकै कम छ । जम्बो स्क्रिनमा पाराग्वेका समर्थकहरू देखिँदा अमेरिकी प्रशंसकहरूले चर्को हुटिङ र 'बु' गरेर दबाब दिने प्रयास गरिरहेका छन्। तर, थोरै सङ्ख्यामा रहेका पाराग्वेका समर्थकहरू पनि निकै जोसिला देखिएको समाचार संस्था एपीले जनाएको छ । रङ्गशालाको एक छेउमा बसेर उनीहरूले पाराग्वेको झण्डा फहराउँदै आफ्नो टोलीको हौसला बढाइरहेका छन्।
खेल शुरू हुनुअघि मैदानलाई सेतो पृष्ठभूमिमा निलो रङको अमेरिकाको नक्सा अङ्कित ठुलो टार्प (पाल) ले ढाकिएको थियो । रातो र निलो कपडा लगाएका ड्रम वादकहरू मैदानमा प्रवेश गर्दा रङ्गशालामा आतिशबाजी गरिएको थियो।
मैदानको बीच भागबाट फिफा विश्वकप ट्रफीको ठुलो बेलुन निकालिँदा दर्शकहरूले ताली बजाएर स्वागत गरेका थिए। खेलको पूर्वसन्ध्यामा अमेरिकी र्यापर फ्युचर र दक्षिण अफ्रिकी सुपरस्टार टाइलाले विश्वकप २०२६ को आधिकारिक गानमध्येको एक गेम टाइममा उत्कृष्ट प्रस्तुति दिँदै माहौललाई थप तताएका थिए ।