२६ असार २०८३, शुक्रबार

ललितपुरको झम्सिखेलस्थित 'अदोरा होल्डिङ'लाई २ लाख ५० हजार जरिवाना

असार १७, २०८३
काठमाडौं
ललितपुरको झम्सिखेलस्थित 'अदोरा होल्डिङ'लाई २ लाख ५० हजार जरिवाना

ललितपुर महानगरपालिका वडा नं. ३, झम्सिखेलमा सञ्चालित 'अदोरा होल्डिङ' नामक खाद्य व्यवसायलाई खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापरबाही गरेको भन्दै २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परेको उजुरीका आधारमा गरिएको आकस्मिक बजार अनुगमनका क्रममा उक्त कैफियत फेला परेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।

'यापिड रेस्पोन्स मोडालिटी' अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय ललितपुर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि विभागको संयुक्त टोलीले उक्त प्रतिष्ठानको निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा टोलीले १ लिटरका तीन बोतल 'फ्रुट सिरप' उपभोग्य मिति समाप्त भएको (एक्स्पायर्ड) अवस्थामा फेला पारेको थियो। त्यसैगरी, पत्रिकामा प्याक गरिएको बिना लेबलको चाउमिन प्रयोग भइरहेको र खानामा कृत्रिम रङको प्रयोग गरिएको समेत पाइएको छ। स्वास्थ्यका लागि घातक मानिने प्रयोग गरिसकिएको तेलको गुणस्तर परीक्षण गर्दा 'टीपीएम'भ्यालु ३३ देखिएको थियो, जुन निर्धारित मापदण्डभन्दा बढी र प्रतिकूल रहेको विभागले जनाएको छ।

निरीक्षणका क्रममा फ्रिजको प्रयोग अव्यवस्थित पाइए पनि सरसफाइ भने सन्तोषजनक रहेको प्रतिवेदनमा उल्लेख छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम उक्त व्यवसायलाई तत्काल २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

कारबाहीका क्रममा मापदण्ड विपरीतको १ लिटर तेल र ३ केजी लेबल नभएको चाउमिन नष्ट गरिएको छ। म्याद गुज्रिएका खाद्य वस्तुहरूका बारेमा थप अनुसन्धान गर्न नमुना संकलन गरिएको छ। विभागले उक्त व्यवसायलाई आगामी दिनमा खाद्य स्वच्छता कायम राख्न र फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशन दिएको छ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बाल कुमारी शर्माले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने यस्ता गतिविधिमाथि विभागले निरन्तर निगरानी र कारबाही प्रक्रिया जारी राख्ने बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्