२६ असार २०८३, शुक्रबार
फिफा विश्वकप–२०२६

इङ्ल्यान्डसामु मेक्सिकोको ‘एस्टेका’ किल्ला तोड्ने चुनौती

असार २१, २०८३
काठमाडौं
इङ्ल्यान्डसामु मेक्सिकोको ‘एस्टेका’ किल्ला तोड्ने चुनौती

फिफा विश्वकप–२०२६ को प्रि–क्वार्टरफाइनलमा इङ्ल्यान्डले आफ्नो इतिहासकै सबैभन्दा कठिन परीक्षाको सामना गर्दैछ ।

अन्तिम–१६ टोलीबीचको भिडन्तमा ‘थ्री लायन्स’ अर्थात, इङ्ल्यान्डले सह–आयोजक मेक्सिकोसँग प्रतिष्ठित ‘एस्टाडियो एस्टेका’ मैदानमा प्रतिस्पर्धा गर्दैछ । मेक्सिको र इङ्ल्यान्डबीचको खेल नेपाली समयअनुसार, ०५:४५ बजे शुरू हुनेछ ।

समुद्र सतहबाट दुई हजार दुई सय मिटरको उचाइमा रहेको यो रंगशालामा खेल्नु इङ्ल्यान्डका लागि सगरमाथा आरोहण जत्तिकै चुनौतीपूर्ण मानिएको छ ।

यो खेलमा प्रशिक्षक थोमस टुचेलका खेलाडीहरूले अक्सिजनको कमी र मेक्सिकोको घरेलु दर्शकको चर्को दबाबको सामना गर्नु पर्नेछ ।

इङ्ल्यान्डले अन्तिम–३२ टोलीबीचको भिडन्तमा कंगोविरुद्ध २–१ गोलको संघर्षपूर्ण जित निकाल्दै यहाँसम्मको यात्रा तय गरेको हो ।

कंगोविरुद्धको खेलमा शुरूमै पछि परेको स्थितिबाट टोलीलाई खेलमा फर्काउन कप्तान ह्यारी केनले दुई गोल गरेका थिए ।

जारी विश्वकपमा पाँच गोल गरिसकेका केन अहिले ‘गोल्डेन बुट’ को दौडमा पनि बलियो दाबेदारका रूपमा उभिएका छन् ।

अर्कोतर्फ, मेक्सिकोले भने आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै अन्तिम–३२ टोलीबीचको भिडन्तमा इक्वेडरलाई २–० गोलले हराएको थियो ।

जुलियन क्विनोनेस र राउल जिमेनेजको गोलमार्फत मेक्सिकोले चार दशकपछि नकआउट चरणमा जितको स्वाद चाखेको थियो ।

मेक्सिकोका लागि एस्टेका मैदान अभेद्य किल्लाजस्तै बन्दै आएको छ । यो मैदानमा मेक्सिकोको टोली विश्वकपको कुनै पनि खेलमा पराजित भएको छैन ।

सन् २०१३ यता यो स्टेडियममा खेलेका कुनै पनि खेलमा मेक्सिकोले हार ब्यहोरेको छैन । यद्यपि, इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेल आफ्नो रणनीतिक क्षमताका लागि चर्चित छन् ।

उनले प्रतिकूल हावा–पानी र उच्च उचाइको चुनौतीलाई चिर्न आफ्ना खेलाडीहरूलाई बढी दौडनुको सट्टा मैदानको रिक्त स्थानलाई नियन्त्रणमा राख्दै विपक्षीलाई छक्याउने रणनीति अपनाउन सुझाव दिएका छन् ।

इङ्ल्यान्डका मिडफिल्डर मोर्गन रोजर्सले पनि मैदानबाहिर समर्थकहरूले सिर्जना गर्ने हल्ला र एस्टेका स्टेडियमको दबाब सामना गर्न टोली मानसिक रूपमा तयार रहेको बताएका छन् ।

इङ्ल्यान्डका लागि डेक्लान राइसको फिटनेस केही चिन्ताको विषय बनेको छ । यद्यपि, उनी खेल्न सक्ने सम्भावना रहेको बताइएको छ ।

रिस जेम्स र जारेल क्वान्सा चोटका कारण मैदान बाहिर रहने सम्भावना छ । यस्तो स्थितिमा टोलीमा बुकायो साका, एन्थोनी गोर्डन र जुड बेलिङ्घमको भूमिका निर्णायक हुनेछ ।

मेक्सिको भने आफ्ना १७ वर्षीय युवा प्रतिभा गिल्बर्टो मोराको प्रदर्शनबाट निकै उत्साही छ । सन् १९५८ को संस्करणमा पेलेपछि विश्वकपको नकआउट चरणको सुरुवाती–११ मा खेल्ने मोरा दोस्रो कान्छो खेलाडी हुन् ।

मेक्सिकोका प्रशिक्षक जाभिएर अग्विरे आफ्नो टोलीको ऐतिहासिक लयलाई निरन्तरता दिने धुनमा छन् । खेलको समय परिवर्तन र खराब मौसमको चर्चाका बाबजुद यो खेल निर्धारित समयमै शुरू हुने निश्चित भइसकेको छ ।

यो भिडन्तलाई विश्वकपको सबैभन्दा बहुप्रतिक्षित खेलको रूपमा हेरिएको छ, जसको विजेताले प्रतियोगिताको क्वार्टरफाइनलमा ब्राजिल वा नर्वेसँगको भेट पक्का गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्