२३ असार २०८३, मंगलबार

फिफाको विवादास्पद निर्णय- अमेरिकी स्टार बालोनगनको रेड कार्ड फुकुवा

असार २२, २०८३
काठमाडौं
फिफाको विवादास्पद निर्णय- अमेरिकी स्टार बालोनगनको रेड कार्ड फुकुवा

विश्व फुटबलको एउटा स्थापित नियम थियो- यदि तपाईँ विश्वकपमा रेड कार्ड (रातो कार्ड) पाउनुहुन्छ भने अर्को खेल स्वतः गुमाउनुहुनेछ। यसमा कुनै 'यदि', 'तर' वा पुनरावेदन (अपील) को विकल्प हुन्थेन। तर, अमेरिकी स्टार फरवार्ड फ्लोरियान बालोनगनले पाएको रेड कार्डलाई फिफाले व्यावहारिक रूपमा उल्ट्याइदिएको छ । 

बोसनिया-हर्जगोभिना विरुद्धको अन्तिम ३२ को खेलमा रेड कार्ड पाएका बालोनगन अब सोमबार बेल्जियमविरुद्ध हुने अन्तिम १६ को महत्त्वपूर्ण खेलमा मैदान उत्रन पाउने भएका छन्। उनी जारी प्रतियोगितामा तीन गोलसहित अमेरिकाका तर्फबाट सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्।

विश्वकपको इतिहासमा हालसम्म १८९ पटक रेड कार्ड देखाइएको छ, जसमध्ये केवल दुई जना खेलाडीले मात्र अर्को खेलको प्रतिबन्ध (सस्पेन्सन) भोग्नुपरेको छैन । यसअघि सन् १९६२ को विश्वकपमा ब्राजिलका लिजेन्ड ग्यारिन्चाले चिली विरुद्धको सेमिफाइनलमा रेड कार्ड पाएका थिए, तर उनले चेकोस्लोभाकिया विरुद्धको फाइनल खेल खेल्न पाएका थिए। त्यतिबेला फिफामा स्वतः प्रतिबन्धको नियम थिएन र रेफ्रीको बयानका आधारमा एउटा कमिटीले निर्णय गर्थ्यो। सन् १९६२ को फिफा अनुशासन कमिटीको उक्त निर्णयमा राजनीतिक हस्तक्षेपको ठुलो आरोप लागेको थियो र अहिले बालोनगनको मामिलामा पनि ठ्याक्कै त्यही दृश्य दोहोरिएको आशंका गरिएको छ।

विश्वकपको सह-आयोजक राष्ट्र अमेरिकाको पक्षमा फिफाले गरेको यो अभूतपूर्व निर्णयपछि ह्वाइट हाउस र फिफा नेतृत्वबिचको निकटतालाई लिएर प्रश्न उठ्न थालेका छन्। विभिन्न सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर बालोनगनको रेड कार्डमाथि पुनर्विचार गर्न आग्रह गरेका थिए। आइतबार साँझ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसियल'मा एक पोस्ट गर्दै एउटा ठुलो अन्यायलाई उल्ट्याइदिएको भन्दै फिफालाई धन्यवाद दिएका छन्।

फिफाको विधानले फुटबलमा राजनीतिक हस्तक्षेपलाई पूर्ण रूपमा निषेध गर्दछ। यसअघि नै ट्रम्पलाई 'फिफा शान्ति पुरस्कार' दिने विषयलाई लिएर फिफा अध्यक्ष इन्फान्टिनोले राजनीतिक तटस्थताको नियम उल्लंघन गरेको भन्दै फिफाकै नैतिक कमिटीले छानबिन गरिरहेको छ। यस्तो अवस्थामा अमेरिकी प्रशासनको दबाबमा बालोनगनको प्रतिबन्ध फुकुवा गरिएको हो भने यसले फिफाको साखमा ठुलो धक्का लाग्नेछ।

फिफाको अनुशासन संहिताअनुसार गम्भीर फउलका लागि कम्तीमा दुई खेलको प्रतिबन्ध हुनुपर्छ र विश्वकपको नियमले रेड कार्डविरुद्ध अपील गर्ने अधिकार दिँदैन। तर, फिफाले बालोनगनको प्रतिबन्ध हटाउनुको कुनै स्पष्ट कारण वा स्पष्टीकरण दिएको छैन। उसले केवल अनुशासन संहिताको धारा २७ लाई उद्धृत गरेको छ, जसले फिफालाई कुनै पनि अनुशासनिक कारबाही पूर्ण वा आंशिक रूपमा निलम्बन गर्ने असीमित अधिकार दिन्छ। विश्वकपको इतिहासमा यो धारा पहिलो पटक प्रयोग गरिएको हो।

यो निर्णयबाट अमेरिकाको आगामी प्रतिद्वन्द्वी बेल्जियम आक्रोशित बनेको छ। बेल्जियम फुटबल एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै फिफाको निर्णयबाट आफूहरू आश्चर्यचकित भएको बताएको छ । फिफाले प्रतियोगिताको नियमलाई मिचेर आफ्नो अनुशासन संहिता प्रयोग गरेको बेल्जियमको आरोप छ । 

यो निर्णयले यसै विश्वकपमा रेड कार्ड पाएका अन्य ११ जना खेलाडीमाथि अन्याय भएको प्रश्न उठेको छ। कतारका आसिम मादिबोको एउटा ट्याकलका क्रममा क्यानडाका मिडफिल्डर इस्माएल कोनेको खुट्टा भाँचिएको थियो। मादिबोले जानीजानी ट्याकल नगरेको र त्यो एउटा दुर्घटना मात्रै भएको स्पष्ट देखिँदा देखिँदै पनि फिफाले उनलाई ५ खेलको कडा प्रतिबन्ध सुनाएको थियो। त्यस्तै, टोटनह्यामका फरवार्ड जाभी सिमोन्सले गत डिसेम्बरमा लिभरपुलका भर्जिल भान डाइकको खुट्टामा अन्जानमै कुल्चिँदा ३ खेलको प्रतिबन्ध भोगेका थिए।

अब फिफाले बालोनगनको प्रतिबन्ध फुकुवा गरेपछि अन्य क्लब र राष्ट्रिय टोलीका प्रशिक्षकहरूले पनि नजिर बसिसक्यो, अब सबैमा एकरूपता हुनुपर्छ भन्दै हरेक रेड कार्डमा अपील र आन्दोलन गर्ने बाटो खुलेको छ। यसले घरेलु लिगहरूमा रेफ्री र फुटबल एसोसिएसनहरूका लागि निर्णय कार्यान्वयन गर्न झनै कठिन बनाउने निश्चित छ।

salt training

कमेन्ट गर्नुहोस्