
फिफा विश्वकप अन्तर्गत अन्तिम १६ को खेलको पहिलो हाफमा इंग्ल्याण्डले आयोजक मेक्सिकोमाथि २-१ को अग्रता बनाएको छ।
मेक्सिको सिटीको ऐतिहासिक एज्तेका स्टेडियममा भइरहेको खेलमा ६ मिनेटभित्र भएका तीन गोलले खेल रोमाञ्चक बनेको छ ।
इंग्ल्याण्डका लागि जुड बेलिङघमले मात्र ९८ सेकेन्डको अन्तरमा दुई गोल गर्दै टोलीलाई २-० को बलियो स्थितिमा पुर्याए । ३६ औँ मिनेटमा बुकायो साकाको पासमा डाइभिङ हेडरमार्फत पहिलो गोल गरेका बेलिङघमले ३८ औँ मिनेटमा ह्यारी केनको सहयोगमा व्यक्तिगत दोस्रो गोल थपे ।
यद्यपि, घरेलु समर्थकको ठूलो साथ पाएको मेक्सिकोले ४३ औँ मिनेटमा गोल फर्काउँदै खेलमा पुनरागमन गर्यो । जुलियन क्विनोनेसले एक फ्रि-किकको सदुपयोग गर्दै उत्कृष्ट भलीमार्फत गोल गरेपछि एज्तेका स्टेडियममा उत्साह छाएको थियो।
पहिलो हाफको अन्तिम ५ मिनेटको थप समय (इन्जुरी टाइम) मा मेक्सिकोले बराबरीका लागि निकै दबाब दिएको थियो । मेक्सिकोका राउल जिमिनेजले गोल गर्ने निकै राम्रा अवसरहरू पाए पनि इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले सानदार बचाउ गर्दै टोलीको संकट टारे ।
इंग्ल्याण्डले २-० को अग्रता बनाएपनि मेक्सिकोको दबाब झेल्नुपरेको छ । पहिलो हाफ सकिँदा इंग्ल्याण्ड अग्रता जोगाउन सफल भए पनि मेक्सिकोले खेलमा कडा चुनौती दिइरहेको हो यस खेलको विजेताले आगामी जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा नर्वेको सामना गर्नेछ ।