
ट्युनिस, २७ पुस- ट्युनिसियामा भएको प्रदर्शनका क्रममा झण्डै ६ सय जना भन्दा बढी प्रदर्शनकारीहरू गिरफ्तार भएका छन् ।
अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार यो हप्ता ट्युनिसियाका सडकहरुमा आन्दोलनकारीहरुको आक्रोस निकै खरो देखिएको छ ।
उत्तरी अफ्रिकी मुलुक ट्युनिसियामा अहिले पनि गरिबी र बेरोजगारीको समस्या समाधान हुन सकेको छैन ।
प्रहरीले चोरी, लुटपाट, आगजनी र सडकहरुको अवरोध गरेकाले ३८२ जनालाई बुधबार पक्राउ गरेको गृह मन्त्रालयले जनाएको छ । झण्डै २८० भन्दा बढीलाई पक्राउ गरेको दुई दिनपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता खालिफ चिबानीले पछिल्ला दिनमा अघिल्ला दिनमा भन्दा धेरै हिंसा भएको बताउनुभयो ।
प्रदर्शनका क्रममा भएको झडपमा परी २१ जना सुरक्षाकर्मीहरू घाइते भएको चिबानीले जानकारी दिनुभयो । अहिलेसम्म प्रदर्शनकारीतर्फ कसैको मृत्यु भएको खवर आएको छैन ।
उहाँले प्रदर्शनकारीहरुबाट ठूलो मात्रामा श्रोत साधनहरूको क्षति भएको पनि बताउनुभयो । प्रदर्शनकारीहरुलाई तितरवितर पार्न र आन्दोलनलाई नियन्त्रण गर्न प्रहरीले केही राउण्ड टियर ग्यास समेत प्रहार गरेको प्रहरी प्रवक्ता चिबानीले जानकारी दिनुभयो ।
तानाशाह जीन एल अबिडिन बेन अलिको लामो समयसम्मको शासनबाट मुक्त भएपछि सन् २०११ देखि ट्युनिसियामा अपेक्षित रुपान्तरण भइरहेको छ ।
तर यसै बर्षको सुरु देखि भने निराशा र असन्तुष्टी व्यक्त भएको छ । मुल्यबृद्धि, संघर्षपूर्ण अर्थतन्त्र लगायतका कारणले निराशा छाएको हो ।