
भारतको बहुप्रतीक्षित 'द ग्रेट निकोबार प्रोजेक्ट' यतिबेला विश्वव्यापी चर्चामा छ । बन्दरगाह विकास, नागरिक पूर्वाधार र सैन्य रणनीतिको अभूतपूर्व सङ्गम मानिएको यो परियोजनालाई हिन्द महासागरमा भारतको ठूलो 'पावर प्ले'का रूपमा हेरिएको छ।
म्यानमार र इन्डोनेसियाको बिचमा अवस्थित अन्डमान र निकोबार द्वीपसमूहको सबैभन्दा दक्षिणी टापु 'ग्रेट निकोबार' मा यो आयोजना निर्माण भइरहेको छ। यो क्षेत्र विश्वकै दोस्रो ठुलो तेल व्यापारिक मार्ग 'मलक्का स्ट्रेट'को निकै नजिक छ । करिब ९ देखि ११ अर्ब डलरको लागतमा सन् परियोजना २०४७ सम्म तीन चरणमा पूरा हुनेछ ।
चीनले हिन्द महासागर क्षेत्रका देशहरू (पूर्वी अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश र म्यानमार) मा तीव्र रूपमा बन्दरगाहहरू विकास गरिरहेको छ। आर्थिक अन्तरनिर्भरतालाई हतियार बनाइँदै गरेको वर्तमान युगमा भारतले यसको बलियो विकल्प खोज्नु अनिवार्य बनेको जिओ पीलिटिकल मोनिटरले जनाएको छ ।
भारतको 'म्यारिटाइम भिजन २०३०' र 'सागरमाला'जस्ता प्रमुख पूर्वाधार नीति अन्तर्गत दक्षिणमा विझिन्जम, पश्चिममा वधवान र पूर्वमा ग्रेट निकोबार बन्दरगाहले इन्डो-प्यासिफिक क्षेत्रमा भारतको आर्थिक र रणनीतिक उपस्थितिलाई बलियो बनाउनेछन्।
भारतका लागि चीन एउटा संरचनागत चुनौती हो, जससँग लामो समयदेखि सीमा विवाद सुल्झिन सकेको छैन। चिनियाँ जासुसी जहाजहरू नियमित रूपमा हिन्द महासागरमा आउने र भारतको मिसाइल परीक्षण लगायतका गतिविधिहरूको निगरानी गर्ने गर्छन्।