
फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलको पहिलो हाफमा स्पेनले फ्रान्सविरुद्ध १–० को महत्त्वपूर्ण अग्रता बनाएको छ।
अमेरिकाको डालस स्टेडियममा जारी प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा स्पेनले खेलमा पकड जमाउँदा फ्रान्स भने केही दबाबमा देखिएको छ।
खेलको २२ औं मिनेटमा मिकेल ओयार्जाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्। फ्रान्सेली डिफेन्डर लुकास डिग्नेले स्पेनका प्रतिभाशाली युवा खेलाडी लामिन यामाललाई पेनाल्टी क्षेत्रभित्र खराब फाउल गरेपछि रेफ्रीले स्पेनलाई पेनाल्टीको अवसर दिएका थिए । जसलाई ओयार्जाबालले सहजै गोलमा परिणत गरे ।
गोल खाएर दबाबमा परेको फ्रान्सका लागि ३३ औं मिनेटमा अर्को ठूलो झट्का लाग्यो। टोलीका भरपर्दा डिफेन्डर विलियम सालिबा घाइते हुँदै मैदानबाट बाहिरिएपछि फ्रान्सको रक्षापंक्तिमा समस्या देखिएको छ। सालिबाको स्थानमा म्याक्सेन्स लाक्रोइक्स मैदान प्रवेश गरेका छन्।
फ्रान्सेली कप्तान किलियन एम्बापेका लागि पहिलो हाफ बिर्सनलायक रह्यो। स्पेनिस डिफेन्डरहरूले उनलाई कडा निगरानीमा राखेका कारण उनले विपक्षीको पेनाल्टी बक्समा पर्याप्त प्रभाव जमाउन सकेनन्। पहिलो हाफभरि एम्बापेले गोलको दिशामा गतिलो आक्रमण बुन्न सकेनन् भने उनी दुई पटक अफसाइडको शिकार भए।
मिडफिल्डमा स्पेनले आक्रामक प्रेसिङमार्फत फ्रान्सलाई लगातार दबाबमा राख्यो। फाबियन रुइजले अग्रता दोब्बर बनाउने सुन्दर मौका पाए पनि उनी चुकेका थिए। खेलको सुरुवातमै फ्रान्सका एड्रियन राबियोटले पहेँलो कार्ड पाएका थिए भने स्पेनका मार्क कुकुरेला पनि पहेँलो कार्डको शिकार बने।
राबियोटले अर्को एउटा खराब फाउल गरे पनि उनी रातो कार्ड पाउनबाट मुस्किलले जोगिएका छन्। पहिलो हाफमा स्पेनको प्रदर्शन उत्कृष्ट रह्यो भने फ्रान्स दोस्रो हाफमा बराबरी गोल फर्काउने निकै दबाबमा छ।