०७ साउन २०८३, बिहीबार

अर्जेन्टिनाको 'झुर' प्रदर्शन

साउन ४, २०८३
काठमाडौं
अर्जेन्टिनाको 'झुर' प्रदर्शन

फिफा विश्वकप २०२६ को फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १–० ले स्तब्ध पार्दै स्पेनले दोस्रो पटक विश्वविजेताको उपाधि चुमेको छ।

 न्युयोर्क न्युजर्सी स्टेडियममा भएको फाइनल भिडन्तमा स्पेनले पूर्ण रूपमा दबदबा कायम गर्दा अर्जेन्टिनाको प्रदर्शन भने निकै कमजोर र निराशाजनक रह्यो।

खेलको तथ्याङ्कले यो प्रतिस्पर्धा कति एकपक्षीय थियो भन्ने प्रष्ट पार्छ। निर्धारित ९० मिनेटको खेल सकिँदासम्म अर्जेन्टिनाले स्पेनको पोस्टमा एउटै पनि प्रहार (० सट्स) गर्न सकेको थिएन। जबकि सोही समयसम्म स्पेनले १६ पटक प्रहार गरिसकेको थियो, जसमा १० वटा 'अन टार्गेट' थिए। खेलको अन्त्यसम्म आइपुग्दा स्पेनले जम्मा २० प्रहार गर्दा अर्जेन्टिनाले मात्र ३ प्रहार गर्‍यो, तर ती कुनै पनि टार्गेटमा थिएनन्।

स्पेनले खेलभरि ६८ प्रतिशत बलमाथि नियन्त्रण जमाउँदै ८०३ पास खेल्यो भने अर्जेन्टिना ३२ प्रतिशत पोजेसनमा खुम्चियो। अर्जेन्टिनाका लागि खेल हार मात्र होइन, अनुशासनका हिसाबले पनि बिर्सनलायक रह्यो।

 ९३औँ मिनेटमा एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। खेलको अन्तिमतिर १२०+६ मिनेटमा लियोान्ड्रो पारेडेसले विपक्षी खेलाडीमाथि हात हालेपछि उनले पनि सिधै रातो कार्ड पाएका थिए।

अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको गोल नै स्पेनको ऐतिहासिक जितका लागि पर्याप्त बन्यो।  लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले उपाधि रक्षा गर्न त परै जाओस्, फाइनल खेलमा एउटै पनि सटिक प्रहार गर्न नसक्नुले उनीहरूको प्रदर्शन 'झुर' सावित हुन पुग्यो । 

कमेन्ट गर्नुहोस्