
काठमाडौं, २ माघ — विवादहरूले घेरिएको बलिउड फिल्म पदेमावतका निर्माताहरूले भारतीय पत्रिकाहरूका फ्रन्ट पेजमा सोमवार विज्ञापन दिएर सफाइ दिएका छन् ।
फिल्ममा अलाउद्दीन खिलजी र रानी पद्मावतीका बीचमा कुनै अन्तरंग दृश्य देखाइएको कुरालाई उनीहरूले खण्डन गरेका छन् । यस फिल्मप्रति प्रत्येक भारतीयले गर्व गर्नेछ भनी विज्ञापनमा उल्लेख गरिएको छ ।
फिल्मका निर्माताहरू भन्साली प्रोडक्सन्स र भायाकम१८ मोसन पिक्चर्सले आधिकारिक रूपमा फिल्म रिलिजको मिति २५ जनवरी घोषित भएपछि विज्ञापन दिएका हुन् । फिल्ममा सेन्सर बोर्डले दिएको संशोधन सुझावलाई समावेश गरिएको छ ।
फिल्म निर्माताहरूले विज्ञापनमा दीपिका पादुकोणको तस्वीर राखेका छन् । फिल्ममा पादुकोणका अलावा शाहिद कपूर र रणवीर सिंह प्रमुख भूमिकामा छन् ।
सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको फिल्मको विज्ञापनमा महाकाव्य पद्मावतमा आधारित रही स्क्रिप्ट तयार गरिएको बताइएको छ । उक्त महाकाव्य सुफी कवि मलिक मोहम्मद जायसीले रचेका थिए र यो कल्पनामा आधारित रचना हो ।
फिल्ममा राजपूतहरूको वीरता, बिरासत र साहस देखाइएको विज्ञापनमा उल्लेख गरिएको छ । फिल्मले रानी पद्मावतीलाई पूरा सम्मानका साथ देखाइएको र उनको चरित्र वा छविलाई धूमिल नगरिएको पनि उल्लेख छ ।
निर्माताहरूका अनुसार, फिल्मलाई सेन्सर बोर्डले जम्मा पाँच संशोधनका साथ स्वीकृति दिएको छ र भारतमा यु÷ए प्रमाणपत्रका साथ यसलाई आधिकारिक रूपमा स्वीकृति दिइएको छ ।
एजेन्सी