०८ साउन २०८३, शुक्रबार

प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी, क-कसले पाउलान् जिम्मेवारी?

प्रदेशको अस्थायी राजधानी भने अन्योलमा
प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी, क-कसले पाउलान् जिम्मेवारी?

काठमाडौं २ माघ- सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी प्रदेश प्रमुखहरुको नियुक्ति गर्ने तयारी गरेको छ। मंगलबार प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी छ ।

त्यसका लागि अपराह्न साढे ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको कृषि विकास मन्त्री रामकृष्ण यादवले लोकान्तरलाई जानकारी दिए । कानून मन्त्री यज्ञबहादुर थापाले पनि प्रदेश प्रमुख तोक्ने तयारी भएको बताएका छन् ।

राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्तिसँगै प्रदेशको राजधानी तोक्न सुझाव दिए पनि सरकारले राजधानीको ‘झमेला’मा नलाग्ने संकेत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पुस २४ गते भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले जनतालाई सुगम हुनेगरी प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई आग्रह गरेकी थिइन् ।

सरकारको सिफारिशमा राष्ट्रतिले प्रदेश प्रमुख नियुक्त गर्ने संविधानको धारा १ सय ६३ मा व्यवस्था गरिएको छ । प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष शपथ लिने छन् । अघिल्लो साता सर्वदलीय बैठकमा वामपन्थी गठबन्धनले प्रदेश प्रमूख नियुक्तिका लागि ‘मौन समर्थन’ जनाएको थियो ।

प्रदेश प्रमुख तोक्ने विषयमा प्रधानमन्त्री देउवाले नेकपा एमाले र माओवादी कोन्द्रका नेताहरुसंग औपचारिक/अनौपचारिक कुराकानी गरिरहेको देउवाका सहयोगीहरुले बताएका छन् ।

प्रदेशको अस्थायी राजधानी या मुकाम नतोकिए प्रदेश सभाका सांसदहरुको सपथ काठमाडौंमै हुनेछ । निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको समयमा सरकारले प्रदेश प्रमुख तोक्ने तयारी गरेको सरकारका अर्का एक मन्त्रीले बताए ।

आयोगले प्रदेश प्रमुख नियुक्त माघ ५ गते भन्दा ढिला गरे राष्ट्रिय सभाको चुनाव प्रभावित हुने चेतावनी दिएको थियो । निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र प्रदेश सभाको बैठक बस्नुपर्ने संविधानको व्यवस्था छ । 

प्रदेशको अस्थायी राजधानी तोक्दा कतिपय ठाउँमा जनआक्रोश बढ्ने भएकोले सरकारले त्यसको अपजस वामपन्थी सरकारको टाउकोमा हाल्न खोजेको छ । तर, एमालेले भने प्रदेश प्रमुखको नियुक्तिसँगै प्रदेशको अस्थायी राजधानी पनि तोक्न माग गरेको छ ।

सरकारले पहिलै अस्थायी राजधानी नतोकेमा प्रदेश सभाको पहिलो बैठकले प्रदेशको राजधानी तोक्ने छ । यसअघि सरकारले विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, दाङ, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको सूचना चुहिएपछि कतिपय ठाउँमा विरोध प्रदर्शन भएको थियो ।

प्रदेशको राजधानी माग गर्दै धनकुटा र डोटीमा आन्दोलन भए भने बुटवलमा कांग्रेसकै अगुवाईमा विरोध प्रदर्शन भएको थियो ।

प्रदेश प्रमुखमा जसको चर्चा छ

सरकारले समाजका ख्यातिप्राप्त व्यक्तिलाई प्रदेश प्रमुखको जिम्मेवारी दिने तयारी गरेको छ । भारतमा पनि समाजमा प्रतिष्ठित व्यक्तिलाई प्रान्त प्रमुख (गभर्नर) तोक्ने व्यवस्था छ ।

नेपाली कांग्रेस स्रोतका अनुसार प्रदेश प्रमुखका लागि पूर्वप्रधान सेनापति रुक्माङ्गत कटवालदेखि म्यागासेसे पुरस्कार विजेता महावीर पुनसम्मको चर्चा छ । सात प्रदेशमध्ये कम्तिमा दुईजना महिला नियुक्त गर्ने सरकारको तयारी छ।

माइती नेपालकी अध्यक्ष एवम् सिएनएन हिरो अनुराधा कोइरालाको नाम पनि प्रदेश प्रमुखको रुपमा चर्चा छ । पूर्वन्यायाधीश, नेपाल सरकारका पूर्वसचिव, त्रिभुवन र काठमाडौं विश्वविद्यालयका पूर्वकुलपतिसम्मको नाम चर्चामा रहेको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल तथा राम नगिना सिंहको नामसमेत चर्चामा छ । प्रदेश प्रमुखको नियुक्ति भएपछि प्रदेशसभाको अन्तिम नतिजा बुझाउन सजिलो हुने निर्वाचन आयोगले बताउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्