
काठमाडौं, २ माघ — मध्य एसियाली देश तुर्कमेनिस्तान प्रायः चर्चामा रहने गर्दैन । तर त्यहाँबाट अहिले विचित्र खबर आएको छ ।
तुर्कमेनिस्तानको राजधानी अश्गाबतमा सेतो रंगको कारबाहेक अरू सबै कारलाई प्रतिबन्ध लगाइएको छ । सेतो रंगबाहेक अन्य कार भएकाहरू राजधानी प्रवेश गर्न पाउँदैनन् ।
अघिल्लो हप्ता तुर्कमेनिस्तानले देशभरि कालो रंगको कारमाथि प्रतिबन्ध लगाएका थिए ।
खासमा राष्ट्रपति गुरबांगुली बरदीमुहामेदोभलाई सेतो रंग धेरै मन पर्छ र उनी त्यसलाई भाग्यमानी रंग मान्छन् । राष्ट्रपति अन्धविश्वासी किसिमका छन् । 
मानिसहरूले बिहान उठेर हेर्दा आफ्नो आँगनमा कार देखेनन् । पछि पो पत्ता लाग्यो सरकारी अधिकारीहरूले उनीहरूको कार जफत गरिदिएछन् । कारमालिकले आफ्नो कार सेतो बनाउने कागजातमा हस्ताक्षर नगरुन्जेलसम्म कार फिर्ता नगरिने सरकारी अधिकारीहरूले बताए ।
सरकारी आदेश आएपछि अटो शपहरूले एउटा कारलाई सेतो रंगमा रंगाउन एक हजार डलर असुलिरहेका छन् । पहिला कार रंगाउन ५०० डलर लाग्थ्यो ।
यस आदेशले मानिसहरू खुबै रिसाएका छन् ।
अश्गाबत शहरलाई सिटी अफ ह्वाइट मार्बल पनि भनिन्छ । राष्ट्रपति गुरबांगुलीले सबै सरकारी भवनहरूलाई सेतो रंगमा रंगाएका छन् ।
एजेन्सी