
काठमाडौं, २ माघ — रुघा लागेका मानिसले खुलेर हाच्छ्युँ गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएका छन् । एक व्यक्तिले हाच्छ्युँ रोक्न खोज्दा उनको घाँटी नै चिरिएको छ ।
ती ३४ वर्षीय व्यक्तिले हाच्छ्युँ रोक्न नाक थिचेर मुख बन्द गरेका थिए । त्यसो गर्दा उनलाई चरम पीडा भयो र उनले केही समयसम्म बोल्न र निल्न सकेनन् ।
द बीएमजे नामक अन्लाइन पोर्टलमा यसका बारेमा विस्तारमा वर्णन गरिएको छ । मानिसहरूलाई यस्तो खतरनाक काम नगर्नका लागि चेतावनीस्वरूप यो लेख त्यहाँ प्रकाशित गरिएको थियो ।
केस स्टडीका अनुसार, बिरामीले पहिलोपटक घाँटीमा केही फुटेको जस्तो अनुभव गरे । हाच्छ्युँ रोक्न खोज्दा उनको घाँटी फुल्यो । पछि उनलाई निल्न असाध्यै गाह्रो भयो र उनको आवाज पनि हरायो ।
चिकित्सकहरूले उनको परीक्षण गर्दा घाँटीदेखि करङसम्म पड्केका आवाजहरू सुने ।
उक्त व्यक्तिलाई एक हप्तासम्म अस्पतालमा भर्ना गर्नुपरेको थियो र ट्युबबाट खुवाउनुपरेको थियो । उनको घाँटी सुन्निन छोडेर पीडा पनि कम भएपछि कडा चेतावनी दिइएको थियो, ‘हाच्छ्युँ गर्दा कहिल्यै नाक र मुख बन्द नगर्नू ।’
हाच्छ्युँ रोक्दा कानको जाली फुट्नेदेखि दिमागको तन्तु खुस्किनेसम्मका समस्या आइलाग्छन् ।
त्यसैले चिकित्सकहरूले हाच्छ्युँ आउँदा त्यसलाई नरोकेर बाहिर आउन दिनुपर्ने बताएका छन् ।
एजेन्सी