काठमाडौं, ३ माघ — भारतको हरियाणास्थित मुकुन्दलाल नेसनल कलेजकी छात्रा आकांक्षा बोहता सामाजिक सञ्जाल युट्युबमा छाएकी छन् । उनको विद्यालय जीवनको भिडियोले हंगामा मच्चाइरहेको छ । एक करोड १७ लाखभन्दा बढी मानिसले भिडियो हेरिसकेका छन् ।
भिडियोमा हास्य र व्यंग्यमार्फत आकांक्षाले पढाइका बेलामा भाइबहिनीको प्रेम अनि किशोरीहरूले सामना गर्नुपर्ने चुनौतीलाई रमाइलो पारामा देखाएकी छन् ।
प्राध्यापक सतीश चौधरीकी छोरी आकांक्षा बीकमको अन्तिम वर्षमा छिन् । उनी आफू ग्रामीण पृष्ठभूमिकी बताउँछिन् । जीवनमा भएका घटना र परिस्थितिहरूलाई नाटकमार्फत देखाउन आफूले चाहेको उनी बताउँछिन् ।
शुरुमा त उनको परिवारले भिडियो बनाउन दिन चाहेन । तर पछि आमा वन्दना बोहता र भाइ पुरु बोहताले समर्थन दिएर उनलाई हौसला दिए । उनकी साथी मञ्जूल कपूरले पनि भरपूर साथ दिइन् ।
आकांक्षाका अनुसार, भविष्यमा पढाइ सकेपछि प्रेरणादायी भिडियो बनाउने उनको योजना छ । समाजमा महिलालाई बराबरीको दर्जा दिलाउन आफूले भिडियो बनाउने उनी बताउँछिन् ।
महिलाका लागि सुखद वातावरण तयार भएर कुनै समस्याविना जिन्दगी बिताउन सहज होस् भन्ने उनको इच्छा छ ।
उनको यस कामलाई सरकारले पनि सहयोग गर्ने भएको छ ।
एजेन्सी