
मुगु, ३ माघ-छायानाथ रारा नगरपालिका वडा नं. १ का पदमराज मल्ल खेलकुद क्षेत्र छाडेर एनजीओमा जागिरतिर लागेका छन् । भलिबलको निकै उत्कृष्ट प्रशिक्षकको रुपमा चिनिएका मल्लले क्षेत्रीय र राष्ट्रियस्तरमा पुगेर प्रतिष्ठा जोगाए पनि पेट पाल्न कठिनाई भएपछि जागिर थालेका हुन्।
'आधा जीवन भलिबल खेल्दै बित्यो, धेरै ठाउँबाट शिल्ड जितेर जिल्लाको इज्जत पनि बचाएँ,' मल्लले भने, ‘आखिर खेलमै रहेर जीवन पाल्न कठिन भएपछि एनजिओमा लाग्नुपर्यो ।' जिल्लामा खेलकुदका लागि आवश्यक पूर्वाधार मात्र नभएर खेलाडीप्रति सम्मानसमेत नरहेको उनको गुनासो छ ।
'बर्सेनि लाखौँ बजेट आए पनि भागबण्डा गरी सिध्याउछन्, खेल र खेलाडी जोगाउन मैदानलगायत कुनै पूर्वाधारको वास्ता गर्दैनन्,' उनले भने।
थुर्पै क्षेत्रीय र राष्ट्रिय खेल खेलिसकेका कराते खेलाडी मुगु ठिनी निवासी जयगणेश मल्लको अवस्था झनै जटिल छ । कुनै अवसर नपाउँदा बुढेसकालमा दिन बिताउन मुस्किल परेको छ । उनी कराते डोजोका टुडनसमेत हुन् ।
सुपाकोट निवासी क्षेत्रीय कराते खेलाडी देवीजंग बुढा चटक्कै खेल छाडेर विदेश पलायन भए । चैनगाउँ निवाासी एथेलेक्टिक धावक आसिनकुमार हमाल पनि खेल छाडेर घरमै गाईभैंसी पालन तथा खेतीपातीतिर लागेका छन् । धावक बनेर केही नहुने देखेपछि गाईभैँसी पालनमा लागेको उनी बताउँछन् ।
अर्का कराँते खेलाडी पारसमणि मल्ल राजनीतिक लागेका छन् । उनी करातेका बल्याक बेल्ट हुन् । साविकको कार्कीबाडा गाविस भामबाडा गाउँका गणेशबहादुर सेजुवाल पनि कराते खेल छोडेर जिल्ला निर्वाचन कार्यालयमा जागिरमा लागेका छन् ।
मुगुमा अधिकांश खेल छाड्ने खेलाडीहरु क्षेत्रीयस्तरका छन् । जिल्लास्तरमा खेल मैदान, कबडहल र खेलाडीलाई कुनै सेवासुविधा नहुँदा खेलाडीहरु पलायन हुने गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर सेजुवालको भनाई छ । खेलाडी जोगाउन संकट उत्पन्न भएको उनी बताउँछन् ।