
बुटवल, ३ माघ- बुटवल-बेलहिया 'छ लेन' सडकको हरियाली क्षेत्र (ग्रीन जोन) मा गम्भीर लापरवाही भएको पाइएको छ । ग्रीन जोनमा माटो मात्र भर्नुपर्नेमा ढुङ्गा र गिट्टीको मिस्कट पनि राखिएको पाइएको हो । स्थानीय बासिन्दाहरु ग्रीन जोनलाई हरियाली प्रवर्द्धन गर्न कस्सिँदा लापरवाहीको रहस्य बाहिर आएको हो ।
ग्रीन जोनमा माटोसँगै ढुङ्गा, गिट्टी मिस्कट भरिएको पाइएपछि स्थानीय बासिन्दा बुटवल–बेलहिया व्यापारिक सडक विस्तार आयोजनाप्रति रुष्ट बनेका छन् । ‘माटो भर्नुपर्नेमा ढुङ्गा, गिट्टी मिस्कट भरिएपछि कहाँबाट बिरुवा हुर्किऊन् ?’ बुटवल–११, कालिकानगरकी शकुन्तला पुनले प्रश्न गरिन्, ‘ग्रीन जोनमा ढुङ्गा, गिट्टी भर्दा सडक आयोजनाले के हेरेर बसेको थियो ? यसको अनुगमन किन भएन ?’
यतिबेला बुटवल उप–महानगर र तिलोत्तमा नगरपालिकाका छ लेन आसपासका बासिन्दाहरु सडकको ग्रीन जोनलाई आकर्षक बनाउने अभियानमा लागेका छन् । स्थानीयको मेहनतका कारण कतिपय स्थानमा सडक निकै आकर्षक देखिएको छ । मणिग्रामबाट शुरु भएको सडक गार्डेनिङ अभियान अहिले त्यसमाथिको क्षेत्रमासमेत तीव्रताका साथ अघि बढिरहेको छ ।
सडक दायाँबायाँको ग्रीन जोनमा माटो राख्नुपर्ने सम्झौता भए पनि ठेकेदार कम्पनीले ढुङ्गा र मिस्कट भरेर मापदण्डविपरीत काम गरेको हो । माटो भर्नुपर्ने ठाउँमा नदीजन्य पैदावारसमेत राखिँदा ग्रीन जोनमा सडक आयोजनाले लगाएका बिरूवाहरू हुर्कन सकेका छैनन् ।
तुलनात्मक रुपमा बुटवलको पश्चिम क्षेत्रको ग्रीन जोनमा बढी लापरवाही भएको पाइएको छ । ‘जसरी पनि भर्ने भन्ने मानसिकता ठेकेदारमा रहेको पाइयो । अरुतिर काम नलाग्ने मस्कट ग्रीन जोनमा हालिएको पाइयो,’ तिलोत्तमा–१ का सन्दीप कार्कीले भने । ठेकेदार कम्पनीले बुटवलको छ लेन सडक आयोजनालाई हस्तान्तरण गरिसकेको छ ।
आयोजनाको लापरवाहीले ग्रीन जोन उजाड बनिरहँदा स्थानीय हरियाली प्रवर्द्धन अभियानमा कस्सिएका हुन् ।
ग्रीन जोनमा शून्यदेखि ७० एमएम साइजको माटो राख्नुपर्ने सम्झौतामा उल्लेख छ । ग्रीन जोनको लेवलभन्दा माथि ३ फिट उठ्नेगरी मिस्कट भरिएको छ । राजमार्ग चौराहादेखि जानकीनगरसम्म (तीन किलोमिटर) सडक लुम्बिनी कन्टेक आशिष जेभी कन्ट्रक्सन प्रा.लि. काठमाडौंले ठेक्का लिएको थियो । उक्त ठेकेदार कम्पनीका तत्कालीन कन्ट्रयाक म्यानेजर विजय भट्टराईले आफूहरूले काम सकेर परियोजनालाई बुझाई सकेकोले ग्रीन जोनको विषयमा अब कुरा उठाउन आवश्यक नभएको भन्दै तर्किए ।
‘ढुङ्गा हालेर भर्दा हाम्रो लागत बढेको छ,’ भट्टराईले भने, ‘कहाँ जाने माटो खोज्न ? जे पाइयो त्यही हालेर भरियो । माटोभन्दा ढुङ्गा महंगो पर्छ । नोक्सान हाम्रै भयो । अब यस्तो सामान्य विषयलाई उठाउन आवश्यक छैन ।’ जानकीनगरदेखि मणिग्रामसम्म शर्मा लामा कान्छाराम जेभी कन्ट्रक्सनले निर्माण गरेको थियो ।
तीन किलोमिटर सडक ३ वर्ष अगाडि नै निर्माण सम्पन्न भएको हो । बुटवल–बेलहिया सडक विस्तार परियोजनाका इञ्जिनियर गोविन्द श्रेष्ठले ठेकेदार कम्पनीले ‘स्वाइल फिलिङ’ (माटो भर्नुपर्ने) क्षेत्रमा ढुङ्गा भरेर परियोजनाकै आँखा छलेको बताए । उनले भने, ‘वरिपरि माटो नभेटिएको नाममा जे पायो त्यहीँ मेटरियल राखेर पुर्ने काम गरेको पाइयो । ढिलो गरी जानकारी भयो । अब कारबाही गर्न सक्ने अवस्था पनि रहेन ।’
ग्रीन जोन र डिभाइडरमा बुटवलमा क्रियाशिल विभिन्न संघ-संस्था र क्लबहरूले बिरुवा लगाए पनि हुर्कन सकेका छैनन् । परियोजनाका तत्कालीन इञ्जिनियर लिलाबहादुर भण्डारी ग्रीन जोनका सन्दर्भमा ध्यान पुर्याउन नसक्दा कमजोरी भएको स्वीकार्छन् । ‘यो सडक बनाउने संक्रमणकाल हुँदा धेरै समस्या भयो,’ भण्डारीले भने, ‘शुरू–शुरूमा घरहरू भत्काउन पनि समस्या खड्कियो । भत्काएपछि समयमै काम हुन सकेन । त्यसपछि काम भयो । तर, ग्रीन जोनमा माटो भर्नुपर्ने कुरामा कसैको पनि ख्याल गएन । सडकतिरै सबैको ध्यान केन्द्रित भयो । अहिले समस्या सुन्नमा आइरहेको छ ।’
ग्रीन जोनमा अहिले सडक आसपासका ढुङ्गागिट्टी फालेर माटो र गोबर मल राखी ग्रीन बेल्ट बनाउने अभियानमै जुटेका छन् । अहिले स्थानीय तहले समुदायमा आधारित सरसफाई र हरियाली प्रवर्द्धन अभियान सञ्चालन गरेका छन् । बुटवल कालिकाचोककी पुनले ठेकेदारले ढुङ्गाले ग्रीन जोनलाई भर्दा आफूहरूलाई हरियाली प्रवर्द्धनमा समस्या भइरहेको बताइन् ।
‘ढुङ्गालाई निकालेर भए पनि हामीले फूल लगाउन थालेका छौँ । ग्रीन जोनलाई आकर्षक बनाएरै छाड्छौँ । तर, अब बन्ने सडकमा यस्तो लापरवाही नहोस्,’ उनले भनिन्। बुटवल–११, कालिकाचोकदेखि आवासपथसम्म उनीलगायतका स्थानीय बासिन्दाहरु अहिले ग्रीनरी अभियानमा जुटेका छन् ।

फोटो : सडक हरियाली अभियानका क्रममा बुटवल–११, कालिकाचोकदेखि आवासपथ चोकसम्मको ग्रीन जोनबाट निकालिएका ढुङ्गाहरु । स्थानीय बासिन्दाले ढुङ्गा निकालेर त्यहाँ गोबर मल बिच्छाएका छन् ।
माटो मात्रै भर्न नगरपालिकाको ध्यानाकर्षण
तिलोत्तमा नगरपालिकाले बुटवल–भैरहवा छ लेन सडकको ग्रीन जोन र डिभाइडरमा माटो मात्र भर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । निर्माणको क्रममा रहेको छ लेन सडकको ग्रीन जोन र डिभाइडरमा माटो मात्र भर्न नगरपालिकाले बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाको ध्यानाकर्षण गराएको हो ।
निर्माण सम्पन्न भएको सडकको ग्रीन जोनमा नदीजन्य पदार्थसमेत पाइएपछि आयोजनाको ध्यानाकर्षण गराइएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । नगरपालिकाले गत पुस १७ गते आयोजनालाई पठाइएको पत्रको बोधार्थ ठेकेदार कम्पनी कालिका रायमाझी जेभी र टी.सी.आई. एल.लाई दिइएको छ ।
पत्रमा ‘ग्रीनबेल्टमा खोलाको नदीजन्य पदार्थ प्रयोग गर्दा बोटबिरुवा हुर्कन नसकेकाले अब उप्रान्त उक्त क्षेत्रमा मल तथा माटो मात्रै फिलिङ गरी बोटबिरुवा हुर्काउन साथै हरियाली प्रवर्द्धनमा सहयोग गर्न’ अनुरोध गरिएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्रामसम्म सिक्सलेन सडक निर्माण सकिएको छ भने बाँकी निर्माणको क्रममा छ ।