
काठमाडौं, ३ माघ — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको मानसिक अवस्थाका सम्बन्धमा उठिरहेका प्रश्नमा विराम लागेको छ । ट्रम्पको मानसिक स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले अघिल्लो साता कग्निटिभ स्क्रीनिङ टेस्ट गरेका थिए । त्यसमा ट्रम्पले शानदार प्रदर्शन गरे ।
ट्रम्पको पहिलो फिजिकल टेस्ट गर्ने जलसेनाका चिकित्सक रोनी ज्याक्सनले मेमोरी लस र अन्य संज्ञानात्मक कमजोरी जाँच्नका लागि बनाइएको टेस्टमा ट्रम्पले पर्फेक्ट स्कोर पाए ।
६ फीट तीन इन्च अग्ला ट्रम्पको तौल २३९ पाउन्ड छ । सन् २०१६ को सेप्टेम्बरपछि ट्रम्पको तौल तीन पाउन्ड बढेको छ । तर ट्रम्पको तौल मोटोपनको परिमाणभन्दा अलिकति कम नै हो ।
ज्याक्सनले राष्ट्रपतिको स्वास्थ्य गजबको भएको बताए । राष्ट्रपति कार्यकालभरि ट्रम्प पूरै फिट रहने आफूलाई लागेको उनले बताए । उनले फास्टफूडमा निर्भर रहेको र व्यायामका नाममा सप्ताहान्तमा गल्फ खेलेको मात्रले चाहिँ असर पार्ने उनले बताए ।
उनले भने, ‘यसलाई जेनेटिक भनिन्छ । मलाई लाग्छ उनको जीन शानदार छ र भगवानले उनलाई यसैगरी बनाएका हुन् ।’
साधारणतया अमेरिकी राष्ट्रपतिले फिजिकल टेस्टका लागि बस्दैनन् तर ज्याक्सनले ट्रम्प आफैं यो टेस्टका लागि सिफारिश गरेको बताए ।
ट्रम्पको मानसिक अवस्थाका विषयमा प्रश्न उठिरहेका छन् । हालै ट्रम्पमाथि लेखिएको किताबमा पनि उनको मानसिक अवस्था ठीक नभएको लेखिएको छ ।
एजेन्सी