
काठमाडौं, ४ माघ- राष्ट्रियसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेसभित्र उम्मेदवार आकांक्षीहरूको लर्को लाग्न थालेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएकाहरूले पनि उम्मेदवार बन्ने आकांक्षा राखेपछि नेतृत्व दबाबमा परेको छ।
सँगसँगै पराजितलाई राष्ट्रियसभामा लैजान नहुने मत पनि कांग्रेसभित्र चर्को रूपमा उठेको छ। बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा निर्वाचनका साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा पनि हुने कांग्रेस नेताहरूले बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचन सकिएको ४० दिन पुग्दासमेत त्यसको समीक्षा र पराजयको कारण खोजी हुन नसकेको भन्दै असन्तुष्टि पोख्दै आएको छ। पौडेल पक्षले कुनै पनि बहानामा निर्वाचनमा पराजितलाई राष्ट्रियसभामा नलैजान दबाबसमेत दिएको छ।
कांग्रेसका नेता अर्जुननरसिंह केसीले चुनाव हारेकाहरू पुनःस्थापित हुँदै छन् भन्ने सुनेको बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।
तर कांग्रेसका लागि दिलोज्यानले लागेर पनि अवसर नपाएकालाई राष्ट्रियसभामा लग्नुपर्ने विषयमा आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्ने धारणा उनले राखे। पार्टीले इतिहासमै लज्जास्पद रूपमा बेहोरेको पराजयको नेतृत्वगत र संरचनागत समीक्षा गर्नका लागि राष्ट्रियसभाको मनोनयनपछि तत्काल केन्द्रीय समिति बस्नुपर्ने उनले बताए।