
काठमाडौं, ४ माघ- नेकपा एमालेका प्रभावशाली युवा नेता एवम् भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले हेटौंडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएकोमा आपत्ति जनाएका छन् । प्रदेशसभाबाट दुई तिहाइ बहुमतले स्थायी राजधानी भक्तपुरमै ल्याउन सकिनेमा विश्वस्त देखिएका बस्नेतले अस्थायी राजधानीसमेत भक्तपुरमै सार्ने ठोकुवासमेत गरे।
'सरकारले अस्थायी राजधानी तोकेपछि हामीले अन्य जिल्लाका साथीहरुसँग पनि कुरा गर्यौँ, सबैजना भक्तपुरप्रति सकारात्मक हुनुहुन्छ,' बस्नेतले लोकान्तरसँग भने, 'स्थायी राजधानी यहाँ ल्याउन सक्नेमा त कुनै शंका नै छैन, तत्काल अस्थायी राजधानीसमेत भक्तपुरमै ल्याउँछौँ।'
उपप्रधानमन्त्री कमल थापाको अडानबारे थाहा पाए पनि सरकारले हेटौंडालाई राजधानी तोक्ला भनेर आफूहरुले कल्पनासमेत नगरेको उनले सुनाए। 'हिजो २/३ बजेसम्म पनि भक्तपुर वा ललितपुरलाई राजधानी तोकिँदै छ भनेर हामीलाई सूचना आइरहेको थियो,' बस्नेतले भने, 'यसरी अन्तिम समयमा धोखा भयो, अब हामी चुप बस्दैनौँ।'
उनले भक्तपुरका सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायीसँग छलफल गरिसकेको भन्दै आजैबाट आन्दोलन थाल्ने बताए ।
प्रदेशका १३ मध्ये मकवानपुरबाहेक १२ वटै जिल्लालाई हेटौँडा पायक नपर्ने उनको जिकिर छ । 'मकवानपुरबाहेक अरु कसैलाई पनि हेटौँडा पायक पर्दैन,' बस्नेतले भने, 'आफ्नै जिल्लामा भएकाले उहाँहरुले विरोध नगर्नुहोला, बाँकी सबै असन्तुष्ट छन् ।'
भक्तपुरको सानोठिमीमा तत्कालका लागि आवश्यक सबै पूर्वाधार रहेको भन्दै बस्नेतले भक्तपुरमा राजधानी तोकिए सरकारको ५ अर्ब रुपैयाँ बच्ने बताए । 'भक्तपुरको सानोठिमीमा आवश्यक सबै पूर्वाधार छ, तत्काल सरकारको ५ अर्ब रुपैयाँ बच्छ,' उनले भने, 'सरकार आफैँले गठन गरेको प्राविधिक समितिले समेत हेटौँडाको कुरै गरेको थिएन, भक्तपुर, ललितपुर वा काभ्रे भन्ने थियो, कमल थापाको ढिपीले उता लगिएको छ, यो हामीलाई मान्य छैन।'
पूर्वाधार हेर्ने हो भने सानोठिमीलाई दोस्रो सिंहदबार मान्न सकिने भन्दै बस्नेतले अस्थायी राजधानीसमेत भक्तपुरमै ल्याइछाड्ने दोहोर्याए।