
काठमाडौं, ४ माघ — रुसमा ज्यानमारा जाडो चलिरहेको छ । राजधानी मस्कोमा पूरै डिसेम्बर महिनामा अँध्यारो भइरह्यो । महिनाभरि जम्मा ६ मिनेटका लागि सूर्यको प्रकाश देखियो ।
रुसका दुर्गम क्षेत्रहरूमा तापक्रम माइनस ६७ डिग्री सेल्सियस पुग्यो । घरबाट बाहिर निस्केका मानिसको आँखीभौं समेत जम्यो ।
स्कूलहरू बन्द गरिएका छन् र मानिसहरूलाई घरैमा बस्ने चेतावनी दिइएको छ ।
रुसको सरकारी समाचार संस्था तासले बताएअनुसार, डिसेम्बरमा सूर्यको प्रकाश जम्मा ६ मिनेट देखियो । सन् २००० को डिसेम्बरमा जम्मा तीन घन्टाका लागि सूर्यको प्रकाश देखिएको थियो ।
रुसको साइबेरियास्थित यकूतियामा तापक्रम माइनस ६७ डिग्री पुग्यो ।
मस्कोभन्दा ३३ सय माइल टाढा रहेको यकूतियामा माइनस ४० डिग्री सेल्सियस हुँदा पनि स्कूल खुल्छन् र बच्चाहरू नियमित रूपमा स्कूल जान्छन् ।
तर माइनस ६७ डिग्री पुगेपछि स्थानीय प्रहरीले अभिभावकहरूलाई बच्चालाई बाहिर ननिस्कनका लागि चेतावनी दिएको छ ।
रुसको ओम्याकोन क्षेत्रमा माइनस ६२ डिग्री पुग्यो । त्यहाँ जाडोमा ग्लासको पानीदेखि लिएर कलमको मसीसम्म सबै कुरा जम्छ । मोबाइल फोन सर्भिस अहिलेसम्म शुरू हुन सकेको छैन ।














एजेन्सी