२२ असार २०८३, सोमबार

हिन्दू देवीदेवताको रंग कस्तो हुन्छ ?

हिन्दू देवीदेवताको रंग कस्तो हुन्छ ?

गोरो रंगप्रति हत्ते गर्ने भारतमा लोकप्रिय हिन्दू देवीदेवतालाई कालो रूपमा पुनर्कल्पना गर्ने एक अभियान चलाइएको बीबीसीकी दिल्ली संवाददाता गीता पाण्डे लेख्छिन् । 

भारतमा गोरोपनको इच्छा शताब्दियौंदेखि पाइन्छ अनि गोरो रंगलाई उच्च मान्ने गरिन्छ । 

देशमा गोरो बनाउने सामानहरू सबभन्दा धेरै बिक्छन् अनि बलिउडका शीर्ष कलाकारहरू नियमित रूपमा गोरो बनाउने क्रीम र साबुनको विज्ञापनमा देखापर्छन् । 

हालैका वर्षमा काखीको रौं र योनिलाई गोरो बनाउने दाबी गर्ने क्रीम र जेलहरू समेत बजारमा ल्याइएका छन् । विज्ञापनहरूले ग्राहकहरूलाई गोरो रंग हुँदा राम्रो जागिर पाइने र प्रेम जित्न पनि सजिलो हुने भनी क्रीम किन्न प्रोत्साहित गरिरहेका छन् । 

तर विगतका केही वर्षयता ‘कालो सुन्दर हुन्छ’ र ‘कालो तर प्यारो’ जस्ता अभियान पनि चलिरहेका छन् र तिनीहरूले मानिसलाई कालो छालालाई राम्रो ठान्न आह्वान गरिरहेका छन् । 

तैपनि गोरो छालाप्रतिको अस्वस्थ लगाव कायम छ । विज्ञापन निर्माता भारद्वाज सुन्दरका अनुसार यो लगाव मर्त्यलोकका मानिसमा मात्र सीमित नरहेर देवीदेवतामा पनि राखेर हेर्ने गरिएको छ । 

‘लोकप्रिय देवीदेवताका सबै चित्रहरू, मन्दिर वा प्रार्थना भवनका तस्वीरहरू, अन्लाइन, क्यालेन्डर अनि पसल तथा रिक्शाको पछाडि टाँसिएका स्टिकर र पोस्टरहरूमा भगवानलाई गोरो देखाइएको हुन्छ,’ सुन्दर भन्छन् । 

गोरोपनाप्रतिको लगाव भएको संस्कृतिमा सुन्दरले भनेबमोजिम कृष्ण भगवान् समेत कहिलेकाहीँ गोरा देखाइएका हुन्छन् जबकि पुराणहरूमा उनी काला थिए भनी वर्णन पाइन्छ । अनि गणेश भगवानलाई पनि गोरो देखाइन्छ जबकि भारतमा सेता हात्तीहरू पाइँदैनन् । 

यो असंगतिको सामना गर्नका लागि चेन्नईका सुन्दरले फोटोग्राफर नरेश नीलसँग मिलेर डार्क इज डिभाइन अर्थात् कालो ईश्वरीय हो भन्ने परियोजना ल्याएका छन् । यसअन्तर्गत देवी र देवताहरूलाई कालो छाला भएको देखाइएको
छ । 

उनीहरूले काला पुरुष र महिला मोडलहरूलाई देवीदेवताको पहिरन लगाइदिएर अभियानका लागि डिसेम्बर महिनामा तस्वीरहरू खिँचे र यसको परिणाम अद्भुत छ । 

मोडल श्रुति पेरियासामीले बीबीसीलाई बताएअनुसार, उनलाई यसअघि धेरैले काली भनी अस्वीकार गरेका थिए तर अहिले उनी धनकी देवी लक्ष्मीका रूपमा चित्रित हुन पाउँदा खुशी छिन् । 

‘लक्ष्मी भारतकी सर्वाधिक लोकप्रिय देवीमध्ये एक हुन् र सबैजना उनीजस्तै बुहारी भित्र्याउन चाहन्छन् । म उनको चित्रण गर्न पाउँदा धन्य अनुभव गरिरहेको छु ।’

पेरियासामीले सबैजना काला मोडलहरूसँग काम गर्न चाहेको त भन्छन् तर कसैले प्रोत्साहन नगरेको बताउँछिन् । यो अभियानले ‘केही मानिसको सोचमा परिवर्तन ल्याएर हामीलाई जिन्दगीमा चम्किन मद्दत गर्ने’ उनको आशा छ । 

अघिल्लो महिना अभियान शुरु गरेदेखि सुन्दरले धेरै फोनकल पाइसकेको र धेरैजसो प्रतिक्रियाहरू सकारात्मक रहेको बताए । केही मानिसले चाहिँ उनलाई पूर्वाग्रह राखेको आरोप पनि लगाए अनि देवी कालीलाई जहिले पनि कालै
रूपमा प्रस्तुत गरिएको बताए । 

सुन्दर आफूलाई कट्टर हिन्दू मान्छन् र कसैप्रति असम्मान दर्शाउने आफ्नो उद्देश्य नरहेको बताउँछन् । उनी भन्छन्, ‘तर हामीले वरिपरि हे–यौं भने ९९.९ प्रतिशत देवीदेवता गोरा छन् ।’

‘कालो ईश्वरीय हो परियोजनामार्फत हामीले गोरो रंग उच्च हो भन्ने सोचलाई चुनौती दिने कोशिश गरिरहेका छौं,’ उनले थपे । 



बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्