
पोखरा, ७ माघ– चार नम्बर प्रदेशका प्रदेशसभाका सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय पर्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । जेष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नम्बर चारका प्रदेश सभा सदस्यलाई शपथ ग्रहरण गराएका हुन् ।
सवैको चासो मनाङ्गेमा !
चार नम्बर प्रदेशका ११ जिल्लाका साठी प्रदेश सभा सदस्यले शपथ लिएका छन् । तनहुँबाट प्रदेशसभामा निर्वाचित रामबहादुर गुरुङ र मनाङका राजिव गुरुङ उर्फ दीपक मनाङगे शपथमा सहभागी भएनन् ।
प्रहरीको खोजीमा रहेका मनाङ्गे पक्राउ पर्ने डरमा शपथमा सहभागी नभएका हुन् ।
२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भएसँगै मनाङ्गे फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीले खोजी कार्यकालागि टिम परिचालनसमेत गरेको छ ।