२१ जेठ २०८३, बिहीबार

६ नम्बर प्रदेशका सांसदले शपथ लिए, भन्छन्– जनताको सेवा गर्छौं

माघ ७, २०७४
६ नम्बर प्रदेशका सांसदले शपथ लिए, भन्छन्– जनताको सेवा गर्छौं

सुर्खेत, ७ माघ– प्रदेश नम्बर ६ का प्रदेश सभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाका जेष्ठ सदस्य हिमबहादुर शाहीलाई शपथ खुवाएका थिए । त्यसपछि जेष्ठ सदस्य हिमबहादुर शाहीले  बाँकी ३९ जना सदस्यहरुलाई सपथ खुवाएका हुन् । शपथ ग्रहण समारोह वीरेन्द्रनगरमा समपन्न भएको हो । 

शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खनालले आजको दिनदेखि नेपाल गणतन्त्रात्मक देशको नयाँ युगमा प्रवेश गरेको बताए । नयाँ युगका अनेकौ सम्भावनाका साथै चुनौती पनि भएको बताउँदै प्रमुख खनालले त्यस्ता चुनौतीहरुलाई वुद्धिमतापूर्वक सामना गर्नुपर्ने बताए । शपथ ग्रहणमा सहभागी सांसदहहरुलाई शुभकामना दिँदै प्रमुख खनालले भविष्यको सुनौला दिनलाई साकार गर्नका लागि सबै एकजुट हुनुपर्ने बताए । 

पूर्व पर्यटन तथा संस्कृति मन्त्री जीवनबहादुर शाहीले प्रदेश नम्बर ६ लाई समृद्ध बनाउनका लागि आफूहरुले रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताए । उनले च्याउ, झ्याउ र स्याउलाई व्यवस्थित मात्र गर्न सकियो भने ६ नम्बर प्रदेश देशकै समृद्ध प्रदेश बन्ने बताए । उनले राजनीतिक खिचातानी भन्दा पनि प्रदेशलाई बलियो र समृद्ध बनाउने गरी अबका दिनमा अघि बढ्नुपर्ने बताए ।

मुगु जिल्लाबाट सभासद भएकी झुपा बिकले जनतालाई सेवा दिने उद्देश्यले सभासद् भएको बताइन् । खासगरी कर्णालीमा सडक, पुल र भवन निर्माण गर्नका लागि आफू सभासद् भएको बताइन् । उनले खासगरी कर्णालीका महिलाको पाठेघर सम्बन्धी समस्याको उपचार, गर्भवती महिलाको उपचारका लागि केही सहयोग गर्ने बताइन् ।

निर्वाचित सभासद्हरु मध्ये सांसद सुशील थापाले पिछडिएका र उत्पिडित समुदायका साथै समग्र क्षेत्रको गुरुयोजना बनाएर आफू अगाडि गर्ने बताए । उनले खासगरी आफू युवा पनि भएकाले बेरोजगारी अन्त्यका लागि र दीर्घकालिन समाधानका लागि आफूले योजना नै बनाएर अघि बढ्ने बताए । ६ नम्बर प्रदेशका अधिकांश युवाहरु छिमेकी मुलुक र खाडी मुलुकमा जाने भएकाले उनीहरु आफ्नै देशमा बसेर काम गर्ने वातावरण सिर्जना गर्ने सभासद् थापाले बताए ।  

शपथग्रहण कार्यक्रम जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको हो । प्रदेसभाको पहिलो बैठकका बारेमा मिति निश्चित नभइसकेको भए पनि छिट्टै गर्ने तयारी गरिएको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्