लोकान्तर संवाददाता
काठमाडौं, १२ माघ –नेपाल विश्वमै बढी भ्रष्ट्राचार हुने मुलुकको सूचीमा पुनः दर्ज भएको छ । विश्वमा भ्रष्ट्राचारसम्बन्धीका गतिविधि नियाल्दै आएको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपाल विश्वमा भ्रष्ट्राचार हुने मुलुकको सूचीको १ सय ३१ औं स्थानमा दर्ज भएको छ ।

इन्टरनेसनलले बुधवार जारी गरेको भ्रष्ट्राचार अवधारणा सूचकांक (करप्सन परसेप्सन इन्डेक्स –२०१७)का अनुसार नेपाल विश्वमा बढी भ्रष्ट्राचार हुने मुलुकको अग्रपंतीमा देखिएको छ । भ्रष्टाचार हुने सूचकाङ्कको सय पूर्णाकमा नेपालले २९ अंक हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल गत वर्ष १ सय ६८ मुलुकमध्ये २७ अङ्क प्राप्त गरी १ सय ३० औँ स्थानमा रहेको थियो ।
इन्टरनेसनलले विश्वका १ सय ७६ राष्ट्रको भ्रष्ट्राचारको स्थिति सार्वजनिक गरेको हो । सन् २०१६ मा सबैभन्दा बढी भ्रष्ट्राचार हुने मुलुकमा सोमालिया रहेको इन्टरनेसनलले जनाएको छ । सोमालियाले १० अङ्कमात्र प्राप्त गरेको छ ।
त्यस्तै, २०१६ मा सबैभन्दा कम भ्रष्ट्राचार हुने मुलुकमा डेनमार्क छ । उक्त सूचकाङ्कमा डेनमार्क र न्युजिल्यान्डले बराबर अर्थात सय पूर्णाकमा ९० अङ्क प्राप्त गरेका छन् ।
सार्कमा नेपाल तेस्रो भ्रष्ट मुलुक
प्रतिवेदनका अनुसार सार्क मुलुकमा नेपाल तेस्रो भ्रष्ट मुलुक जनाइएको छ । नेपालले २९ अंक प्राप्त गरेको छ ।
सार्कमा अफगानस्थानलाई सबैभन्दा बढी भ्रष्ट मुलुक उल्लेख गरिएको छ । अफगानिस्थान १ सय ६९ औं स्थानमा छ । अफगानिस्थानले १५ अंक प्राप्त गरेको छ ।
त्यस्तै, बंगलादेश सार्कमा दोस्रो भ्रष्ट मुलुकको रुपमा इन्टरनेसनलले उल्लेख गरेको छ । बंगलादेश २६ अंकका साथ १ सय ४५ औं स्थानमा छ ।
दक्षिण एसियाली मुलुकमा भुटान सबैभन्दा अग्रपंतीमा छ । भुटानले ६५ अङ्क प्राप्त गरी २७ औँ स्थानमा छ ।
मालदिभ्स र श्रीलङ्का ३६ अङ्क प्राप्त गरेका छन् ।
त्यस्तै, पाकिस्तान ३२ अङ्कले १ सय १६ औँ स्थानमा छ । भारत ४० अंकका साथ ७९ स्थानमा छ ।
छिमेकी मुलुक चीन ४० अङ्क प्राप्त गरी ७९ औँ स्थानमा रहेको छ ।
नेपालमा सुशासनको कमीका कारण भ्रष्ट्राचार निवारणमा कठिनाई भएको प्रतिवेदनमा जनाइएको छ ।
सरकारद्वारा सार्वजनिक क्षेत्र÷पदाधिकारीको काम कारबाहीमा निगरानीको स्थिति, कर भुक्तानी, ठेक्का पट्टा र न्याय प्राप्तिका लागि दिनुपर्ने घुस, सरकारी प्रतिनिधिद्वारा निजी स्वार्थको लागि पदको दुरुपयोगको अवस्थालगायत विषय समेटी प्रतिवेदन तयार पारिएको संस्थाका महासचिव पदमिनी प्रधानाङ्गले बताए ।
विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फान्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा उक्त प्रतिवेनद तयार गरिएको इन्टरनेसनलले जनाएको छ ।
इन्टरनेसनलले सन् १९९५ देखि प्रत्येक वर्ष यो सूची सार्वजनिक गर्दै आएको छ । नेपाललाई २००४ देखि उक्त सूचीमा समावेश गरिएको थियो ।