
काठमाडौं, ६ माघ- बैंक तथा वित्तीय संस्थालाई संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकलले एक सूचना जारी गर्दै मुद्दति निक्षेपको ब्याजदर ३ महिनासम्म परिवर्तन नगर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै भनेको छ, ‘बोलकबोलको आधारमा संकलन हुने संस्थागत मुद्दति निक्षेपको हकमा प्रकाशित ब्याजदरमा २ प्रतिशतसम्म थप गरी निक्षेप संकलन गर्न सकिनेछ ।
तर, यसरी प्रकाशित गरिएको ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न पाइने छैन ।’ राष्ट्र बैंकको यो निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाले स्वीकार गर्ने संस्थागत निक्षेपको ब्याजदरमा थप कडाई भएको छ । यसबाट ब्याजदर स्थायित्व कायम राख्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । छिटोछिटो ब्याजदर परिवर्तन गर्नेक्रम यसले रोक्ने समेत राष्ट्र बैंकको विश्वास छ ।