
काठमाडौं, ८ माघ– बोल्न सक्ने बच्चालाई टन्सिल भयो भने थाहा पाउन सकिन्छ, तर नाबालकमा लागेको टन्सिलबारे जानकारी नहुन पनि सक्छ । टन्सिल बढेर कहिलेकाहीँ बच्चामा बाथ तथा मुटु रोगसमेत लाग्न सक्छ । त्यसैले यसबारे सचेत हुन आवश्यक छ ।
टन्सिलाइटिसको पहिलो उपचार भनेको कीटाणुविरुद्धको एन्टिबायोटिक हो । यदि भाइरसले संक्रमण गरेको भएमा भने यस्तो एन्टिबायोटिकको आवश्यकता पर्दैन । यस्तो अवस्थामा चिकित्सकको सल्लाहबमोजिम सामान्य उपचारबाटै निको हुन्छ ।
कहिलेकाहीँ टन्सिल बढेर निकै ठूलो पनि हुन सक्छ । तर, यसलाई गम्भीर रोगको रुपमा बुझ्नु हुँदैन । कतिपय अवस्थामा अप्रेसन पनि गर्नुपर्ने हुन्छ । तर , अप्रेसनको कारण टन्सिललाइटिस मात्र चाहिँ कहिल्यै हुँदैन ।
मुखबाट देखिने टन्सिलजस्तै नाक र मुखको वरपर पनि नदेखिने अन्य प्रकृतिका टन्सिल हुन्छन् । तीमध्ये फ्यारिङ्सको माथिपट्टि रहेको एडिनाइड टन्सिल वा घाँटीको टन्सिल ठूलो भएपछि श्वासप्रश्वासमा समेत बाधा उत्पन्न गर्न सक्छ । त्यसैले समयमै उपचार गर्नुपर्ने हुन्छ ।
नयाँ पत्रिकाबाट