
बाहुबलीबाट चर्चाको शिखरमा पुगेका अभिनेता प्रभास नयाँ फिल्मको सुटिङमा व्यस्त छन् ।
उनी नयाँ फिल्म व्यस्त रहेकै समयमा उनका काका र दक्षिण भारतीय फिल्ममा जमेका कलाकार रामकृष्णमले प्रभावसले यसै वर्ष विवाह गर्ने बताएसँगै प्रभासको विवाहको चर्चा फेरि चुलिएको छ ।
हजारौं युवतीले उनलाई प्रेम प्रस्ताव पठाएका भएपनि प्रभावसले भने यसबारे मुख खोलेका छैनन् । तर भारतीय सञ्चार माध्यममा भने बाहुबलीकी जोडी अनुष्का सेठ्ठीबीच सम्बन्ध रहेको दाबी आउने गरेको छ । उनीहरुलाई विभिन्न कार्यक्रमहरुमा समेत सँगै देखिने भएका कारण पनि यस्तो अड्कलबाजी भएको हुन सक्छ ।
मिडियाले उनीहरू गहिरो प्रेममा रहेको र केही समयमै इंगेज्मेन्ट गर्ने तयारीमा रहेको खबरसमेत प्रकाशन गरे । तर, अहिले आएर अनुस्काले आफू र प्रभासबीचको खास सम्बन्धको खुलासा गरेकी छिन् ।
उनले हालै दिएको एउटा अन्तर्वार्तामा आफू र प्रभास प्रेममा नरहेको दाबी गरेकी छिन् । ‘म र प्रभासबीच विशुद्ध साथीको सम्बन्ध छ । त्योभन्दा अरु केही पनि छैन,’ उनले भनेकी छिन,‘उनी र म बिहे गर्ने खबर सरासर झुटो र निराधार हो । जब म बिहे गर्छु, सबैलाई खबर गर्नेछु । मेरो परिवारले खोजेको केटासँग नै म बिहे गर्नेछु ।’
अनुस्काले मिडियाले कुरा नबुझिकनै समाचार बनाउने गरेको आरोप लगाइन् । ‘म आफ्नो निजी जिन्दगी नितान्त निजी राख्न चाहन्छु,’ उनले भनेकी छिन ‘तर, मिडियाले अनावश्यक खबर प्रकाशन गर्छन् । म कसैको प्रेममा छैन । म निजी जीवनका कुरा समाचारमा ल्याउनै चाहन्नँ ।’
उनको यस्तो प्रतिक्रिया सार्वजनिक भएसँगै प्रभासले कोसँग विवाह गर्छन् भन्ने चर्चा शुरु भएको छ भने केहीले अनुष्काले मिडियामा झुट्टो बोलेको दाबीसमेत गरेका छन् ।