
काठमाडौं, ९ माघ– राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाउन दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । नेकपा एमालेले तीनवटा प्रदेशको राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाएको छ भने नेकपा माओवादी केन्द्रले टुंगो लगाउने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ । लोकतान्त्रिक गठबन्धन पनि भागबन्डा मिलाउन छलफलमा छ ।
एमालेले चर्चित लोकगायिका कोमल वलीसहित १३ जनालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको हो । बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर १० गते मनोनयन गर्ने एमालेले जनाएकाे छ ।
उम्मेदवार छान्ने जिम्मा नेतृत्वलाई– नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनोटका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मंगलबार उम्मेदवार छनोट गर्ने जिम्मा पाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।
एमालेसँग संयुक्त रुपमा निर्वाचनमा जाने भएकाले माओवादी केन्द्रले १४ उम्मेदवार मात्र उठाउने भएको छ ।
लोकतान्त्रिक गठबन्धन– राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसले पनि अान्तरिक रुपमा गृहकार्य गरिरहेकाे छ । कांग्रेसले संघीय समाजवादी फोरम र राजपा नेपालसँगको तालमेलका लागि नेताहरु विमलेन्द्र निधि, रामशरण महत र मिनेन्द्र रिजाललाई जिम्मेवारी दिएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गरेर जाने भएको छ । राजपा नेपालको बैठकले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने गरी छलफल अघि बढाएको छ । तालमेलका लागि उसले ५ सिट मागेको छ ।
राष्ट्रिय सभा निर्वाचनको तालमेलका लागि दुई दलसँग वार्ता गरेर सिट बाँडफाँटको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई नै दिइएको छ ।
सिलवाललाई पक्रिन सूचना– पूर्व डिआइजी एवम् नेकपा एमालेका सांसद नवराज सिलवालको खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेसँगै १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु भएको छ ।
बढुवाको लागि कार्य सम्पादन मुल्याङ्खकन फाइल किर्ते गरेको आरोपमा सर्वोच्च अदालतले उपस्थित हुन भने पनि सिलवाल फरार भएपछि प्रहरीले खोजी शुरु गरेको हो ।
दुर्घटनामा तीन जनाको मृत्यु– सल्यानमा सोमबार भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । रुकुम पश्चिमबाट दाङका लागि छुटेको कालिका मालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको बस त्रिवेणी गाउँपालिका–६ स्थित भाटाखोला नजिक दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा रुकुम मुसिकोट नगरपालिका– ५ की ३४ वर्षीया पुष्पा खड्का केसी, रुकुम प्यौघाका १७ वर्षीय भीमबहादुर खड्का र सल्यान बागचौर नगरपालिका– १० की ७० वर्षीया छन्चरी विक रहेकाछन् ।
निर्वाचन सुरक्षा– उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गर्न सबैखाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगमा सोमबार बसेको बैठकले यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन र समन्वयका साथ कार्य गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
अर्थ र स्वास्थ्यबीच कुरा मिलेन– गम्भीर रोगका विरामीहरुलाई दिने भनिएको राहत एक महिना नपुग्दै रोकिएको छ । सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो ।
पुस १३ गते मन्त्रिपरिषदको बैठकले राहत दिने निर्णय गरेपनि अर्थ मन्त्रालयले प्रस्ट मापदण्ड नपुगेको भन्दै स्वास्थ्य मन्त्रालयलाई बजेट दिन रोकेको हो ।
सोही अनुरुप अर्थमन्त्रालयसँग बजेट माग गरेको थियो । स्वास्थ्य मन्त्रालयले प्रस्ट मापदण्ड नबुझाएपछि बजेट रोकिएको हो।
श्रीपञ्चमी– सोमबार श्रीपञ्चमी अर्थात् सरस्वती पूजा विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी देशभर श्रीपञ्चमी मनाइएको छ । सरस्वती पूजाका दिन बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ । विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका साधनको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गई वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छन् ।
उन्नत जातका बीउ– कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न नयाँ जातका उन्नत किसिमका अन्नबालीको बीउको विकास गरेको छ । परिषद्का वरिष्ठ वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार परिषद्ले मकै, धान, गहँु, तोरी, मुसुरोलगायत अन्नबालीका नयाँ उन्नत जातका बीउको विकास गरेको हो ।
मकैमा वसन्त मकै, बर्खे मकै, अरुण–३, अरुण–४ र अरुण–६, मनकामना–३, मनकामना–४, मनकामना–५ र मनकामना–६ जातका बीउ तयार गरिएको छ । तोरीमा लुम्ले, अदुवामा कपुरकोट र कपुरकोट–१ नामका बीउ विकास गरिएको छ । सुख्खायाममा सुख्खा–३, सुख्खा–४, सुख्खा–५ रहेका छन भने बाढीको समस्या भएको ठाउँका लागि स्वर्ण सव–१ र सेरान सव–१ जातका बीउ रहेका छन् ।
माथिल्लो अरुणको डिपिआर– माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड रिसर्च (सिआइएसपिआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
आयोजना प्रमुख जोशीका अनुसार सम्झौतालगत्तै विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम शुरु हुनेछ । सम्झौताबमोजिम आगामी दुई वर्षभित्र उक्त प्रतिवेदन तयार पार्नुपर्नेछ । त्यसका लागि रु एक अर्ब ३१ करोड ३० लाख खर्च लाग्नेछ । विश्व बैंकले त्यसका लागि नेपाल सरकारलाई करिब रु दुई अर्ब सहयोग उपलब्ध गराएको छ ।
पुनःनिर्माण प्राधिकरणको निर्देशन– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद् पश्चातको पुनर्लाभ कार्यढाँचाभित्र रहेर पुनःनिर्माण कार्यअघि बढाउन निर्देशन दिएको छ । प्राधिकरणले पुनर्लाभ कार्यढाँचाभित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र ड्रईङ र लागत स्वीकृत गराएर पुनःनिर्माण कार्यअघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । प्राधिकरणका सचिव मधुसुदन अधिकारीले पुनःनिर्माण गर्ने संरचनाको डिजाइन, लागत र खरिद गुरुयोजना प्राधिकरणबाटै स्वीकृत गराएर वित्तीय अनुशासनको पूर्णपालना गर्न निर्देशन दिए ।
धितोपत्र बोर्डको नयाँ निर्णय– नेपाल धितोपत्र बोर्डले शेयर कारोवार गर्दा आगामी दिनमा व्यवसायीले आफ्ना व्यक्तिगत विवरण (केवाइसी) राख्नुपर्ने नियम बनाएको छ । बोर्डले सबै दलाल व्यवसायीलाई परिपत्र जारी गरी धितोपत्रको कारोवार प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन केवाइसी राख्न भनेको हो । सम्पत्ति शुद्धीकरणको कानूनी व्यवस्थालाई प्रभावकारी बनाउने क्रममा धितोपत्र कारोवार गर्दा दलाल व्यवसायीले राख्नुपर्ने केवाइसीलाई सक्षम बनाउनु परेको परिपत्रमा उल्लेख छ ।
विदेशका खबर– दक्षिणी फिलिपिन्सको एक ग्रामीण क्षेत्रमा कम्युनिष्ट विद्रोही समूह र सेनाबीचको भिडन्तमा परी पाँचको मृत्यु भएको छ । मारिनेमा त्यहाँको कम्युनिष्ट विद्रोही समूह, न्यू पिपुल्स् आर्मी (एनपिए) का पाँचजना गुरिल्ला रहेका छन् । सोमबार बिहान सबेरै सैनिक र विद्रोहीबीच भएको झपडमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको र केही घाइते भएको सैनिक अधिकारीहरुले जानकारी दिएका छन् ।
खेल खबर– नेपाल आर्मी सुनसरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरीको क्षेत्रीय रंगशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा ड्रुक युनाइटेड एफसी भुटानलाई आर्मीले ५–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । क्वाटर फाइनलअन्तर्गतको अन्तिम खेल मंगलबार आयोजक राष्ट्रिय जागृती क्लब इटहरी र गरिफा स्पोर्टिङ क्लब कोलकताबीच हुनेछ ।