
काठमाडौँ, ९ माघ- दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ ।
बेपत्ता हुनेमा सबैभन्दा धेरै महिला छन् । तीन वर्षको अवधिमा १० हजार २८३ महिला हराएका छन् । बेपत्ता हुने महिलाको संख्या ५४.३५ प्रतिशत छ । महिलापछि धेरै बालक हराएका छन् । यस अवधिमा तीन हजार १७९ बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वयस्क पुरुषको संख्या पनि धेरै छ । आर्थिक वर्ष ०७१-७२ देखि ०७४-७५ सम्म मुलुकभरिबाट तीन हजार १३१ वयस्क पुरुष बेपत्ता भएका छन् । तुलनात्मक रूपमा बेपत्ता हुने बालिकाको संख्या भने केही कम छ । तीन वर्षमा दुई हजार ३२५ बालिका बेपत्ता भएका छन्, नयाँ पत्रिकाले खबर छापेको छ ।