
काठमाडौं, ९ माघ — अस्ट्रेलियाकी सुप्रसिद्ध नारीवादी लेखिका जर्मेन ग्रीअरले हाल चलिरहेको मीटू अभियानलाई चुनौती दिएकी छन् ।
ग्रीअरले यौन दुर्व्यवहारको सामना गरेका महिलाले दुर्व्यवहार गर्ने पुरुषविरुद्ध प्रत्यक्ष र तत्काल कारवाही गर्नुपर्ने बताइन् ।
‘म जहिले पनि महिलाहरूले तत्कालै प्रतिक्रिया जनाऊन् भन्ने चाहन्छु,’ उनले भनिन् ।
‘पुरुषसँग आर्थिक शक्ति हुँदा दुर्व्यवहारको सम्भावना हुन्छ जस्तो हार्वे वाइन्स्टाइनको हकमा भयो । तर आफू चाहिँ वाइन्स्टाइनले 'मसँग राम्रो व्यवहार ग–यौ भने फिल्ममा काम दिन्छु' भन्दा सुत्न तयार हुने गर्दा मलाई त त्यो सहमतिमै
गरिएको यौन जस्तो लाग्छ र यत्तिका वर्षपछि अहिले आएर त्यसको बिलौना गर्नु बेकार हो जस्तो लाग्छ ।’
‘म महिलाहरूले तत्कालै प्रतिक्रिया जनाऊन् भन्ने चाहन्छु । रेलमा यात्रा गर्दा कुनै पुरुषले गलत ठाउँमा हात पु–याएमा महिलाले प्रस्ट रूपमा रोक् भन्न सक्नुपर्छ ।’
अहिले संसारभरका महिलाहरूले चलाइरहेको ‘म पनि शिकार भएकी थिएँ’ अर्थात् मी टू अभियानप्रति ग्रीअरको उत्साह छैन । यस्ता अभियानले काम नगर्ने किनकि आरोप लगाउने महिलालाई पुरुषका वकिलहरूले धुजाधुजा पार्ने उनको भनाइ छ ।
फ्रान्सेली अभिनेत्री क्याथरिन डेनेउभले मी टू अभियानबाट महिलालाई निर्बल पीडित बनाएको भन्दै पश्चात्ताप गरिएको एक खुला पत्रबाट हस्ताक्षर फिर्ता लिएको विषयले आफूलाई निराश बनाएको ग्रीअरले बताइन् ।
अनि मी टू अभियान आफ्नो मूल लक्ष्यसम्म पुग्न नसकेको उनको गुनासो छ । हाकिमहरूले कामदारहरूमाथि गरेको शोषण र दुर्व्यवहारलाई नउठाइएको अनि शोषकविरुद्ध मुद्दा चलाउनका लागि पैसा नउठाइएकोमा उनको गुनासो छ ।
उनले बलात्कार सम्बन्धी एक नयाँ किताब 'अन रेप'मा काम गरिरहेको बताइन् ।
एजेन्सी