
काठमाडौं, ९ माघ — पैसा तिरेर यौन सेवा दिने कामलाई २० वर्षअघि नै फौजदारी अपराध बनाइएको भएपनि स्विडेनमा यो समस्या कायमै छ । हालैको ट्रेन्ड हेर्दा मसाज पार्लरको भेषमा वेश्यालयहरू सञ्चालनमा आएका देखिन्छन् ।
स्विडेनका केही सांसदहरू विदेशमा गएर यौनकर्मीको सेवा लिने कामलाई अपराध बनाउन उद्यत भएपनि देशमै वेश्यावृत्तिको समस्या कायम छ । मसाज पार्लरका नाममा चलेका बोर्डेलो अर्थात् वेश्यालयहरूले देशको नारीवादी
छविलाई धूमिल बनाइरहेका छन् । सन् २०१७ मा प्रहरीले गोथेनबर्ग र माल्मोमा मात्र ३०–४० वटा पार्लरमा यौन व्यापार चलिरहेको भेटेको थियो ।
त्यहाँको सरकारी टीभी एसभीटीले गरेको खोजमा माल्मोस्थित मसाज पार्लरले यौनसेवा दिने गरेको देखाएको थियो । उक्त पार्लरलाई सामाजिक सञ्जालमा चर्को प्रवर्द्धन गर्ने गरिएको छ अनि महिला मसाजकर्ताहरूका अश्लील तस्वीर देखाइने गरेको छ । ध्यान दिएर हेर्दा यौन र यौनकर्मी सेवा दिने वेबसाइटहरूमा मसाज पार्लरका विज्ञापनहरू पनि दिने गरिएका छन् ।
पार्लरको प्रमुख आकर्षण जापानी नुरु मसाज हो जसमा मसाज गर्ने र गराउने दुवै नांगिन्छन् अनि मसाज गर्ने महिलाले आफ्नो शरीर ग्राहकको शरीरमा रगड्छिन् । मसाज गर्ने महिलाहरू धेरैजसो पोल्यान्डका हुन्छन् र तिनीहरू माल्मोमा छोटो अवधिका लागि आउँछन्, एसभीटीले रिपोर्ट ग–यो ।
स्विडेनमा यौन खरिदबिक्रीलाई अपराधीकरण गरिएको भएपनि कुन यौनकर्म हो भन्ने विषय निर्धारण गर्न कठिन छ । त्यसैले प्रहरीले मसाज पार्लर जाने जोकोहीलाई समातिहाल्छ भन्ने छैन ।
राजधानी स्टकहोममा ल्याएर बेचिने तथा किनिने महिलामध्ये ७५ प्रतिशत अन्य देशबाट आएका हुन्छन् । उनीहरू प्रायः जसो रोमानिया, नाइजेरिया, बुल्गेरिया र दक्षिण अमेरिकी देशहरूबाट ल्याइएका हुन्छन् ।
नेपालमा पनि मसाज पार्लरका नाममा यौनधन्धा चल्ने गरेको गाइँगुइँ सुनिन्छन् । केही समयअघि प्रहरीले ठमेलका मसार्ज पार्लरमा छापा मारेर यौनधन्धाको पर्दाफास गरेको थियो । मसाज पार्लरमा यौनकर्म गराउने धन्धालाई मजाकमा
ससाज भन्ने गरिएको छ ।
एजेन्सी