०१ असार २०८३, सोमबार

अमानवीयता र अपराधको पराकाष्ठा, नवजात शिशुको अनुहार ढुंगाले किचेर हत्या !

माघ ९, २०७४
अमानवीयता र अपराधको पराकाष्ठा, नवजात शिशुको अनुहार ढुंगाले किचेर हत्या !

गुल्मी, ९ माघ-स्थान गुल्मीस्थित सांस्कृतिक महत्त्वको रिडी बजार, चिसो–चिसो मौसम अनि साँझको समय । साताको पहिलो दिन आइतबार दिनभर कामकाज व्यस्त सर्वसाधारण घर फर्किने हतारोमा थिए । सर्वसाधारण दिनभरको व्यस्ततालाई बिसाउन धमाधम घर पस्दै गर्दा शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरीको भने बाहिर निस्किने बेला हुँदै थियो । 

दिन ढल्यो, अंध्यारो विस्तारै छिप्पिन थाल्यो । अंध्यारोको मौका छोपेर हुन सक्ने आपराधिक गतिविधि रोक्न प्रहरी निरीक्षक भीमबहादुर कार्की नेतृत्वको टोली गस्तीमा निस्कियो । बजारको सामान्य रेखदेख गर्दै टोली अघि बढिरहेको थियो । त्यत्तिकैमा बजारमै रहेको एक शौचालयपछाडि पुग्दा कल्पनासमेत नगरेको दृष्य देख्नुपर्‍यो ।

फोहोरको थुप्रोमा एक नवजात शिशुको बिभत्स शरीर देख्दा एकछिन त उनीहरुले केही सोच्नै सकेनन् । आँखाले धोका त खाएन ? अझै नियालेर हेरे, दृष्य उही थियो । भर्खरै जन्मिएको जस्तो देखिने शिशुलाई अनुहारमा ढुंगाले किचेर हत्या गरी फालिएको रहेछ ।

केहीबेरमै भीड जम्मा भयो । प्रहरीले घटनास्थलको मुचुल्का उठायो र पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठायो ।

यसरी शिशु जन्माएर हत्या गरी कसले फाल्यो? अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी अभियुक्तको खोजीमै छ । पछिल्लो समय समाजिक सञ्जालको बढ्दो प्रयोग तथा चेतनाको कमीले अनैतिक सम्बन्ध र यस्ता आपराधिक घटना बढेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर कार्की बताउँछन् ।

‘पाँच महिनायता यस प्रकृतिको यो पहिलो घटना भए पनि पछिल्लो समय यस्ता घटनाहरु बढेका छन्,’ डीएसपी कार्कीले भने, ‘समाजिक सञ्जालको प्रयोग, अनैतिक सम्बन्ध, अस्थायी साधानसम्बन्धी ज्ञानको कमी र चेतनाको कमीले गर्दा यस्ता घटनाहरु भइरहेका छन् ।

गुल्मीमा मात्र होइन, देशभर नै यस प्रकृतिका घटना बढ्दै गएका छन् । केही समयअघि काठमाडौंको कोटेश्वर र चोभार तथा ललितपुरको लभुमा पनि नवजात शिशु जन्माएर हत्या गरी फालेको अवस्थामा भेटिएको बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्याङ्क छ ।

salt training

कमेन्ट गर्नुहोस्