
काठमाडौं, १० माघ– आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरिँदै गर्दा दलहरुले अधिकांश उम्मेदवारको टुंगो लगाएका छन् ।
नेकपा एमालेले स्थायी कमिटी बैठकबाट माओवादी केन्द्रसँगको भागबण्डामा सबै २९ उम्मेदवारको टुंगो लगाएको छ भने माओवादीले पनि प्रदेश नम्बर २ को एक उम्मेदवारबाहेक १३ उम्मेदवारको टुंगो लगाएको छ ।
यसैगरी नेपाली कांग्रेसले पनि २ नम्बर प्रदेशबाहेक सबै उम्मेदवारको टुंगो लगाइसकेको जनाएको छ । राजपा र संघीयसमाजवादी फोरमले उम्मेदवारको बुधबार बिहानसम्ममा टुंगो लगाउने तयारी गरेको छ।
यता राप्रपा तालमेलबारे वाम गठबन्धन र कांग्रेससँग अनौपचारिक छलफलमा जुटेको छ। राष्ट्रियसभामा उम्मेदवारी दिने तयारी गरेको राप्रपाले चुनावी तालमेलबारे वार्ता गर्न सुशील श्रेष्ठ, विक्रमबहादुर थापा, कुन्तीकुमारी शाही र ऋचा भट्ट जोशी सदस्य रहेको समिति बनाएको छ। मंगलबार दुवै दलका नेतासँग अनौपचारिक छलफल भए पनि ठोस निर्णयमा भने पुगिनसकेको राप्रपा नेत्री शाहीले जानकारी दिइन्।
यो पनि पढ्नुहोस्
यी हुन् एमालेको तर्फबाट राष्ट्रियसभा चुनाव लड्ने उम्मेदवार (नामावलीसहित)
माओवादी केन्द्रले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार, बादलदेखि दिनानाथसम्म छानिए
कांग्रेस– मधेसी दलबीच तालमेल
कांग्रेस र मधेसी दलबीच राष्ट्रियसभाको सिट बाँडफाडमा सहमति जुटेको छ ।
मंगलबार बालुवाटारमा भएको बैठकमा कांग्रेस, राजपा नेपाल र संघीयसमाजवादी फोरमबीच सिट बाँडफाँडमा सहमति जुटेको हो ।
सहमतिअनुसार तीन पार्टीबीच २–२ सिट बाँडफाँड गर्ने सहमति भएको छ । २ नम्बर प्रदेशमा राष्ट्रियसभाको ८ सिट रहेको छ । जहाँ कांग्रेस राजपा र फोरम मिल्दापनि वाम गठबन्धनले २ सिट जित्ने सम्भावना छ ।
यसअघि वाम गठबन्धनसँग मधेसी दलले तालमेल गर्न खोजेपछि संविधान संशोधनको सबालमा सहमति हुन नसकेपछि मधेसी दल एकाएक कांग्रेससँग वार्ता गर्न पुगेको थियो र ६ सिटमा २–२ सिट बाँडेर लिने सहमति भएको हो ।
गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश
जिल्ला अदालत काठमाडौँले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले मंगलबार थुनछेक बहसपछि गौचनको हत्यामा संलग्न नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटी छाड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए ।
अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । अदालतले राजकुमार साह रौनियार र श्याम गुप्तालाई धरौटीमा छोड्न आदेश दिएको छ ।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको संगठित अपराधमाथिको बहसपछि अदालतले सो आदेश दिएको हो । गौचनको गत असोज २३ गते बानेश्वरमा गोली हानी हत्या भएको थियो ।
यसैबीच गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।
स्वेच्छिक अवकासमा आकर्षण
संघीय संसद् सचिवालयका दुवै सचिवले स्वेच्छिक अवकाशका लागि राजीनामा दिएका छन् ।
सरकारले बीस वर्ष सेवाअवधि र ५० वर्ष उमेर नाघेका स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीलाई बाँकी सेवाअवधिको सुविधासहित अवकाश योजना ल्याएपछि उनीहरुले राजीनामा दिएका हुन् ।
तीन सय ३० को हाराहारीमा दरबन्दी रहेको संसद् सेवामा कर्मचारीको सेवा उमेरहद ६० वर्ष रहेको छ ।
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्कीले स्वेच्छिक अवकाश रोजेको जानकारी दिए ।
जनमोर्चाबाट तीन उम्मेदवार
राष्ट्रिय जनमोर्चाले यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट कृष्ण अधिकारी, मीना पुन र रश्मिराज नेपालीलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टीका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको प्रेस विज्ञप्तिमा अधिकारी र पुन प्रदेश नं ४ बाट तथा नेपाली प्रदेश नं ५ बाट उम्मेदवार हुने जनाइएको छ ।
राष्ट्रियसभा निर्वाचनबारे प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन् ।
राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा मंगलबार सम्बोधन गर्दै डा यादवले मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न आह्वान गरे ।
कार्यक्रममा आयोगले दलका प्रतिनिधिलाई मतपत्रको ढाँचा, मतदानको तरिका, मतदान प्रक्रिया, मतगणनालगायत विषयमा प्रशिक्षण दिनेछ । प्रशिक्षणमा नेकपा (एमाले), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेसलगायतको सहभागिता थियो ।
राष्ट्रियसभा निर्वाचनका लागि माघ १२ गतेदेखि आचारसंहिता लाग्ने
राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि यही माघ १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा दुई हजार ५६ मतदाता छन् । निर्वाचनका लागि सबैभन्दा बढी मतदाता प्रदेश नं २ र सबैभन्दा कम प्रदेश नं ६ मा छन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकानुसार यही माघ ७ गते सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरेको छ ।
सोअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता छन् ।
आयोगको निर्वाचन तालिकानुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।
आयोगले प्रदेश नं १ को मोरङ, विराटनगर, प्रदेश नं २ को धनुषा, जनकपुरधाम, प्रदेश नं ३ को ललितपुर, पाटन, प्रदेश नं ४ को कास्की, पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरेको छ ।
निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ र सात प्रदेशबाट निर्वा्चित प्रदेशसभा सदस्य ५५० गरी दुई हजार ५६ मतदाताले मताधिकार प्रयोग गर्ने बताइएको छ ।
स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष तथा प्रदेशसभामा पुरुष ३६१ र महिला १८९ मतदाता छन् । निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहनेछन् । निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने आयोगले जनाएको छ । राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुनेछ ।
दुई लाखभन्दा बढी भूकम्प पीडित दोस्रो किस्ताका लागि प्रमाणीकरण
भूकम्प अति प्रभावित १४ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या दुई लाख नाघेको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईको मंगलबार दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार प्रमाणीकरण हुने लाभग्राहीको सङ्ख्या दुई लाख चार हजार ९९३ पुगेको हो ।
विसं २०७३ पुस मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन गर्ने समयसीमा गत पुस मसान्तसम्म तोकिएको थियो ।
खेल खबर
आयोजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा राराको गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ ।
मंगलबार भएको प्रतियोगिताअन्तर्गत सुदूरपश्चिमका लागि धनबहादुर थापाले खेलको २५ आँै मिनेटमा गोल गरे । त्यस्तै खेलको ७८ औँ मिनेटमा सुदूरपश्चिमका मनिराम चौधरीले गोल गर्दै अन्तरलाई दोब्बर बनाए ।
खेलको थप समयमा सुदूरपश्चिमकै राकेश हमालले गोल गर्दै विजय सुनिश्चित गराए ।
यता बैतडीमा जारी मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार दशरथचन्द नगरपालिका–४ खलंगा र दशरथचन्द नगरपालिका–२ देहिमाडौँ भिड्ने भएका छन् ।
मंगलबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दशरथचन्द नगरपालिका –९ ग्वाल्लेकलाई ११५ रनले पाखा लगाउँदै खलंगा फाइनलमा पुगेको हो भने दशरथचन्द नगरपालिका–६ थालिगाडालाई ४ विकेटले स्तब्ध पार्दै देहिमाडौँ उपाधि नजिक पुगेको हो ।
विदेशका खबर
अमेरिकी संघीय सरकार सञ्चालनका लागि अस्थायी खर्च विधेयक पारित
अमेरिकी माथिल्लो सदन सरकारको खर्चसम्बन्धी विधेयक विफल बनेपछि आएको आर्थिक अन्यौलतालाई अन्त्य गर्दै दुवै सदनले संघीय निकायहरू सञ्चालनका लागि अस्थायी रूपमा खर्च उपलब्ध गराउने सम्बन्धि विधेयकलाई मङ्गलबार पारित गरेका छन् ।
बहुमतबाट पारित भएको उक्त विधेयकले संघीय सरकार सञ्चालनका लागि अर्को साढे दुई हप्तासम्म रकम उपलब्ध गराउन सक्नेछ ।
सरकारी खर्चबारे सिनेटमा भएको यो अस्थायी विधेयकको पक्षमा ८१ मत र विपक्षमा १८ मत खसेको थियो ।
रिपब्लिकन र डेमोक्र्याट्सहरूले अस्थायी रुपमा रकम उपलब्ध गराउने उक्त विधेयक पारित गरेपछि बन्द रहेका सरकारी कार्यालयहरू मंगलवारबाट पुनः खुल्ने अपेक्षा गरिएको छ ।
खर्चसम्बन्धी कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको भन्दै विदेशमा लड्न पठाइएका सेनालाई तलब खुवाउनसमेत समस्या भएको थियो ।
फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक रहेकोमा आप्रवासन र सीमा सुरक्षाजस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन सकेको थिएन ।
पूर्व राष्ट्रपति बाराक ओबामाको पालामा ल्याइएको कार्यक्रमअन्तर्गत केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरूलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्र्याटहरूको माग विवादको मुख्य विषय रहँदै आएको छ ।
खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएपछि राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरूले राजनीतिक स्वार्थ हेरेका कारण पछिल्लो अवस्था निम्तिएको आरोप लगाएको थियो ।
इन्डोनेसियामा शक्तिशाली भूकम्प
इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ ।
मङ्गलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन ।
यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन् । जाकार्ताका सरकारी कार्यालय भवनहरु पनि मङ्गलबार खाली रहेका बताइएको छ ।
भूकम्पबाट मानवीय तथा भौतिक सम्पत्ति क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।
यस भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण पश्चिममा १० किलामिटर गहिराईमा रहेको इन्डोनेसियाली भू–गर्भ विभागले जानकारी दिएको छ ।
इन्डोनेसिया विश्वको अन्य भूगोलको तुलनामा भूकम्पको प्रकोपले बारम्बार सताउने देशमा पर्छ ।